पार्टीको नराम्रो हार भएपछि प्रचण्ड वेचैन, नेतृत्व हस्तान्तरणका लागि दवाब दिदैँ कार्यकर्ता
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) चुनावी पराजयको समीक्षा गर्न केन्द्रित भएको छ। २२ घटक मिलेर बनेको नेकपा १७ सिटमा सीमित भएपछि पार्टीले चुनावी समीक्षा र आगामी रणनीतिबारे गहन छलफल सुरु गरेको हो।
पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बिहीबारदेखि संयोजन समितिको बैठक बोलाएर औपचारिक छलफल अघि बढाएका छन्। अर्को बैठक सोमबार बस्ने तय गरिएको छ।
बैठकमा संयोजक प्रचण्डले चुनावी हारका कारण समेटिएको प्रतिवेदन प्रस्तुत गरेका छन्। प्रतिवेदनमा चुनावी परिस्थिति विश्लेषण र परिणामको आकलन समेटिएको छ। चार प्रमुख दलबीच प्रतिस्पर्धा हुने अनुमान गरिए पनि परिणाम अपेक्षाभन्दा बाहिर आएको उल्लेख गरिएको छ।
प्रतिवेदनमा भनिएको छ, ‘हामीले प्रत्यक्षतर्फ कम्तीमा ३० भन्दा बढी सिट र समानुपातिकतर्फ १७–१८ लाख मत ल्याउने अपेक्षा गरेका थियौँ। कांग्रेस, एमाले र रास्वपा प्रत्येकले ४०–५० सिट ल्याउने अनुमान थियो, तर त्यो आङ्कलन कुनै ठोस तथ्य वा सर्वेक्षणमा आधारित थिएन।’
निर्वाचन प्रचारका क्रममा क्षेत्रबाट आएका रिपोर्टका आधारमा ६० सिटसम्म जित्ने आकलन गरिएको भए पनि अन्तिम परिणाम अपेक्षाअनुसार आउन नसकेको निष्कर्ष निकालिएको छ। धेरै क्षेत्रमा जित्ने अनुमान गरिए पनि दोस्रो स्थानसमेत हासिल गर्न नसकिएको प्रतिवेदनमा उल्लेख छ।
पार्टीले चुनाव एजेन्डा र उम्मेदवार छनोट प्रभावकारी बन्न नसकेको निष्कर्ष निकालेको छ। सुशासन, रोजगारी, समाजवादको तयारी, राष्ट्रियता र लोकतन्त्रको रक्षा जस्ता मुद्दा उठाए पनि मतदाताले त्यसमा अपेक्षित ध्यान नदिएको भनिएको छ।
साथै, मतदाताहरूले डिजिटल माध्यमबाट आउने ‘अल्गोरिदमिक’ सन्देशलाई बढी प्राथमिकता दिएको र त्यसैको प्रभावमा मतदान गरेको विश्लेषण पनि प्रतिवेदनमा गरिएको छ।
यता, नेकपाका युवा नेताकार्यकर्ताहरु भने अब पुराना नेताहरुले नेतृत्व हस्तान्तरण गर्नुपर्ने माग राखिरहेका छन् । केहि दिन पहिले नेकपाका भातृसंगठनका नेताहरु संयोजक प्रचण्ड र सहसंयोजक माधव कुमार नेपाललाई भेट्न गएका थिए । भेटना अखिल (क्रान्तिकारी) का उपाध्यक्ष विराज थापाले संयोजक र सहसंयोज दुवै जनालाई माग्र प्रसस्त गर्न अनुरोध गरेका थिए ।



तपाईको प्रतिक्रिया दिनुहोस