Techie IT
२०८३ वैशाख ७, सोमबार

पार्टी एकतावारे प्रचण्ड सँग कुनै छलफल भएको छैन - अध्यक्ष ओली


नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेकपा अध्यक्ष पुष्पकमल दाहाल र नेता नारायणकाजी श्रेष्ठसँग पार्टी एकताबारे कुनै छलफल नभएको स्पष्ट पारेका छन्। अस्पतालमा उपचारका क्रममा उनीहरू भेट्न आए पनि एकताको विषयमा कुनै कुराकानी नभएको उनले बताएका हुन्।

एमाले नेता विशाल भट्टराईले अध्यक्ष ओलीसँगको भेटपछि सामाजिक सञ्जालमार्फत् उक्त जानकारी सार्वजनिक गरेका छन्। उनका अनुसार हालै शल्यक्रिया गराएका ओलीको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको छ र उनी छिट्टै सक्रिय राजनीतिमा फर्किने तयारीमा छन्।

भट्टराईका अनुसार अस्पतालबाट डिस्चार्ज भएको दोस्रो दिनमै निवासमा भेट्दा ओलीको स्वास्थ्य सुदृढ देखिएको थियो। “यत्तिको उमेर र जटिल स्वास्थ्य अवस्थाका बाबजुद पनि उहाँलाई हसिलो मुद्रामा देख्दा उत्साहजनक लाग्यो,” उनले उल्लेख गरेका छन्। पित्तथैलीमा २४ एमएमको पत्थरी देखिएपछि गरिएको शल्यक्रियासँगै हर्नियाको समेत अपरेशन गरिएको जानकारी उनले दिएका छन्।

उनका अनुसार आईसीयूमा समेत ओलीलाई सामान्य अवस्थामा भेटिएको र डिस्चार्जपछि निवासमा हिँडडुल गरिरहेको देख्दा आफूलाई आश्चर्य लागेको थियो। ओलीको उच्च मनोबल नै स्वास्थ्य सुधारको प्रमुख कारण बनेको भट्टराईको भनाइ छ।

भेटका क्रममा अध्यक्ष ओलीले पार्टी एकताको सन्दर्भमा स्पष्ट धारणा राख्दै एमालेको सिद्धान्त, नीति र कार्यक्रम स्वीकार गर्ने शक्तिसँग मात्र एकता सम्भव हुने बताएका छन्। “सैद्धान्तिक, वैचारिक र सांगठनिक एकरूपता बिना कुनै पनि पार्टी एकता सम्भव हुँदैन,” उनको भनाइ उद्धृत गरिएको छ। साथै, एमालेको एघारौँ राष्ट्रिय महाधिवेशनको नीति र नेतृत्व स्वीकार गर्नेहरूसँग मात्र सहकार्य हुनसक्ने उनले बताएका छन्।

ओलीले पूर्ण रूपमा स्वास्थ्यलाभपछि पार्टीका नियमित गतिविधिमा फर्कने र देशव्यापी रूपमा कार्यकर्ता तथा जनतामा आशा जगाउने कार्यक्रम अघि सार्ने तयारीमा रहेको पनि बताएका छन्।

यसैबीच, अध्यक्ष ओलीले आफूविरुद्ध गरिएको धरपकडलाई प्रतिशोधपूर्ण र पूर्वाग्रहयुक्त भएको दाबी गर्दै अदालतले न्याय दिएको उल्लेख गरेका छन्। साथै, आफूविरुद्ध लगाइएका सबै आरोपहरूको निष्पक्ष छानबिन गर्न चुनौती दिँदै “सत्यतथ्य बाहिर ल्याउन हामी तयार छौं” भन्ने सन्देश दिएका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट