Techie IT
२०८३ असार ५, शुक्रबार

सुकुमबासी बस्तीमा डोजर आतंक विरुद्ध जेनजी मुभमेन्ट एलायन्सले विरोध प्रदर्शन गर्ने


काठमाडौँको थापाथलीस्थित बागमती किनारमा रहेको सुकुमबासी बस्ती हटाउन सरकारले डोजर चलाउने तयारी र सुरक्षा निकायको परिचालनविरुद्ध जेनजी मुभमेन्ट एलायन्सले विरोध प्रदर्शन गर्ने भएको छ। एलायन्सले शुक्रबार बिहान ११ बजेदेखि थापाथली क्षेत्रमा मानव साङ्लो बनाएर घेराउ गर्ने कार्यक्रम सार्वजनिक गरेको छ।

भूमिहीन तथा सुकुमबासीमाथि भएको दमनको विरोधमा उत्रिएको उक्त युवा समूहले बस्तीहरूमा त्रास फैलाउने गतिविधि तत्काल रोक्न सरकारसँग माग गरेको छ। संविधानले सुनिश्चित गरेको आवासको हक र सम्मानपूर्वक बाँच्न पाउने नागरिक अधिकारमाथि ठाडो उल्लङ्घन भएको आरोप लगाउँदै एलायन्सले विपन्न नागरिकलाई घरबारविहीन बनाउने निर्णय फिर्ता लिन दबाब दिएको छ।

आन्दोलनकारीहरूले सुकुमबासीका नाममा बसेका हुनेखाने र वास्तविक भूमिहीनबीच स्पष्ट पहिचान आवश्यक रहेकोमा जोड दिएका छन्। उनीहरूले अधिकार सम्पन्न उच्चस्तरीय आयोग गठन गरी निष्पक्ष छानबिन र प्रमाणीकरणपछि मात्र आवश्यक कदम चाल्नुपर्ने सुझाव दिएका छन्। जथाभावी डोजर चलाउनुको सट्टा दीर्घकालीन र न्यायसंगत समाधान खोज्नुपर्ने उनीहरूको माग छ।

यसैबीच, कुनै पनि निर्णय लिनुअघि सुकुमबासी प्रतिनिधि, नागरिक समाज तथा विज्ञहरूसँग संवाद गरेर समाधान निकाल्न एलायन्सले सरकारलाई आग्रह गरेको छ। थापाथली क्षेत्रमा सुरक्षाकर्मी र मेसिन परिचालन गरेर ‘आतंक सिर्जना’ गरिएको आरोप लगाउँदै एलायन्सले विरोधमा एकजुट हुन सर्वसाधारणलाई आह्वान गरेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट