अध्यादेश विवाद: विपक्षी दलहरू एकजुट हुदै, सरकारविरुद्ध रणनीति तय गर्न बैठक बस्दै
सरकारले संसद् अधिवेशन स्थगित गर्दै संवैधानिक परिषद् र सहकारीसम्बन्धी अध्यादेश ल्याउने तयारी गरेपछि विपक्षी दलहरू एकजुट भएका छन्। यही सन्दर्भमा प्रमुख विपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले आज मध्याह्न १२ बजे सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा विपक्षी दलहरूको बैठक बोलाएका छन्।
बैठकमा नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी का संसदीय दलका नेताहरूलाई आमन्त्रण गरिएको छ। बैठकमा संसद् छलेर अध्यादेश ल्याउने सरकारको कदमविरुद्ध संयुक्त प्रतिवाद रणनीति बनाउने विषयमा छलफल हुने जनाइएको छ।
मंगलबार राष्ट्रपतिसमक्ष प्रमाणीकरणका लागि अध्यादेश पुगेपछि मात्रै सरकारले उक्त निर्णय सार्वजनिक भएको थियो। त्यसलगत्तै नेता आङ्देम्बेले संसद् स्थगित गरेर अध्यादेश ल्याउने कदमलाई ‘अलोकतान्त्रिक’ र ‘सार्वभौम संसद्को अपमान’ भन्दै कडा आलोचना गरेका छन्। उनले लोकतन्त्र, जनमत र संविधानको मर्ममाथि आघात पुग्ने कार्य कुनै हालतमा स्वीकार्य नहुने चेतावनी दिएका छन्।
दुई तिहाइ नजिकको बहुमत हुँदाहुँदै पनि अध्यादेश ल्याइएकोप्रति प्रश्न उठाउँदै उनले सरकारसँग “आफ्नै बहुमतमाथि किन अविश्वास?” भन्ने प्रश्नसमेत गरेका छन्।
सरकारको यस कदमप्रति एमालेसहित अन्य विपक्षी दलहरूले पनि कडा विरोध जनाएका छन्। सोमबारको मन्त्रिपरिषद् बैठकले अध्यादेश ल्याउने निर्णय गरेको भए पनि सरकारका प्रवक्ताले सार्वजनिक रूपमा यसबारे जानकारी नदिनु थप विवादको विषय बनेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस