संविधान संशोधनमा गोकुल बास्कोटाको 'बोल्ड' प्रस्ताव, समानुपातिक सिट खारेज गरौँ
नेकपा एमालेका प्रभावशाली नेता गोकुल बास्कोटाले सरकारले संविधान संशोधनको तयारी गरिरहँदा राज्य संरचना र निर्वाचन प्रणालीमा आमुल परिवर्तनको प्रस्ताव अघि सारेका छन्। सामाजिक सञ्जालमार्फत आफ्ना धारणा राख्दै उनले हालको संवैधानिक व्यवस्थामा कडा टिप्पणी गरेका हुन्।
नेता बास्कोटाले माथिल्लो सदन (राष्ट्रिय सभा) लाई थप समावेशी र शक्तिशाली बनाउनु पर्ने तर्क राखेका छन्। उनले राष्ट्रिय सभाको सदस्य संख्या १०५ पुर्याउनुपर्ने र त्यहाँ महिला–पुरुषको ५०–५० प्रतिशत सहभागिता सुनिश्चित हुनुपर्ने बताएका छन्। साथै, अमेरिका र अन्य केही मुलुकको अभ्यास जस्तै उपराष्ट्रपतिलाई नै राष्ट्रिय सभाको अध्यक्ष बनाउने व्यवस्था गर्न उनले माग गरेका छन्।
हालको प्रशासनिक संरचनामाथि प्रश्न उठाउँदै उनले जिल्ला समन्वय समिति (जिसस) अनावश्यक भएको दाबी गरेका छन्। "पहिला रास्वपा संघीयता खारेज गर्ने भन्थ्यो, अब संविधान संशोधन गर्छ कि गर्दैन? गर्ने हो भने केन्द्र र पालिका मात्र होस्," भन्दै उनले राष्ट्रिय स्वतन्त्र पार्टीलाई समेत यस विषयमा स्पष्ट हुन चुनौती दिएका छन्।
प्रतिनिधिसभाको संरचनाबारे बास्कोटाले हालको समानुपातिक प्रणाली खारेज गर्नुपर्ने प्रस्ताव गरेका छन्। त्यसको सट्टा प्रत्यक्ष निर्वाचनमै महिलाका लागि ४० र पुरुषका लागि ६० प्रतिशत सिट अनिवार्य सुरक्षित गर्नुपर्ने उनको तर्क छ। यसो गर्दा मात्रै जनअनुमोदित र समावेशी नेतृत्व स्थापित हुने बास्कोटाको दाबी छ।



तपाईको प्रतिक्रिया दिनुहोस