किन रोकियो भारतीय विदेश सचिवको नेपाल भ्रमण ?
वैशाख २८ गतेका लागि तय गरिएको भारतीय विदेश सचिव विक्रम मिस्रीको नेपाल भ्रमण अन्तिम समयमा स्थगित भएको छ ।
प्रधानमन्त्री बालेन्द्र शाह लाई भारत भ्रमणको औपचारिक निमन्त्रणा दिन काठमाडौँ आउने तयारीमा रहेका सचिव मिस्रीले अचानक आफ्नो भ्रमण रोकेका हुन् ।
यद्यपि, मिस्रीको भ्रमणबारे नेपाल र भारत दुवै सरकारले औपचारिक घोषणा गरेका थिएनन् । तर दुवै पक्षले अनौपचारिक रूपमा भ्रमणको तयारी भइरहेको संकेत दिँदै आएका थिए । गत चैतमा मौरिसस मा भारतका विदेशमन्त्री एस जयशंकर र नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बीच भएको भेटपछि मिस्रीको नेपाल भ्रमणको चर्चा बाहिर आएको थियो ।
त्यसपछि स्वयं मिस्रीले पनि आफू नेपाल भ्रमणमा आउने तयारीमा रहेको बताएका थिए भने भारतका लागि निवर्तमान नेपाली राजदूत डा. शंकर शर्माले समेत भारतीय सञ्चारमाध्यमसँग उनको भ्रमणबारे जानकारी दिएका थिए । भारतीय विदेश मन्त्रालय स्रोतलाई उद्धृत गर्दै त्यहाँका सञ्चारमाध्यमहरूले मे ११ मा मिस्री नेपाल आउने उल्लेख गरेका थिए ।
नेपालको परराष्ट्र मन्त्रालयले औपचारिक पुष्टि नगरे पनि नियमित पत्रकार सम्मेलनमार्फत चाँडै भ्रमण हुने संकेत दिएको थियो ।
तर अन्तिम समयमा भ्रमण स्थगित भयो । स्रोतहरूका अनुसार यसको मुख्य कारण नेपाल–भारत सीमा विवाद, विशेषतः लिपुलेक मुद्दालाई मानिएको छ । स्रोतका अनुसार लिपुलेकबारे दुवै देश आ–आफ्नो अडानमा रहेका बेला सचिवस्तरीय भ्रमण उपयुक्त नहुने निष्कर्ष निकालिएको हो । नेपालमा पनि पछिल्लो समय लिपुलेक विषयलाई लिएर विरोधका स्वर चर्किन थालेका छन् । यस्तो अवस्थामा मिस्रीको भ्रमणले नकारात्मक सन्देश जान सक्ने आकलन गरिएको बताइन्छ ।
भारतीय समाचार एजेन्सीएनिले पनि दुईदिने भ्रमणका लागि मिस्री सोमबार काठमाडौँ अवतरण गर्ने तयारीमा रहेको, तर यात्रा अप्रत्याशित रूपमा रद्द भएको भारतीय विदेश मन्त्रालयका एक अधिकारीले पुष्टि गरेको जनाएको छ ।
यसैबीच, नेपालको परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर क्षत्री ले शुक्रबार आयोजित नियमित पत्रकार सम्मेलनमा भ्रमण स्थगित हुनु र सीमा विवादबीच कुनै सम्बन्ध नरहेको बताएका थिए ।
उनले नेपाल–भारत सम्बन्ध अत्यन्त निकट रहेको उल्लेख गर्दै एउटै मुद्दाले दुई देशबीचको सम्बन्ध प्रभावित नहुने प्रतिक्रिया दिएका थिए ।
यता, पूर्वराजदूत नीलाम्बर आचार्यले भ्रमण स्थगित हुनु राम्रो संकेत नभएको टिप्पणी गरेका छन् । उनले भने, “हाम्रा सम्बन्धलाई निरन्तर संवाद र भेटघाटमार्फत सम्भार गरिरहन आवश्यक छ ।”
हालका लागि भ्रमण स्थगित भए पनि दुवै देशबीच कूटनीतिक संवाद जारी रहेको र उपयुक्त समयमा भ्रमण पुनः तय हुन सक्ने परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ ।



तपाईको प्रतिक्रिया दिनुहोस