Techie IT
२०८३ वैशाख ३०, बुधबार

गगन थापालाई सभापति मान्न कुनै विमति छैन, पद जोगाउन विमानस्थल धाएको होइन - मुख्यमन्त्री शाह


सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले नेपाली कांग्रेसभित्रको आन्तरिक कलह र सरकार परिवर्तनको बहसलाई लिएर नेतृत्वप्रति कडा असन्तुष्टि व्यक्त गरेका छन्। कांग्रेसको ‘जरा अभियान’ अन्तर्गत धनगढीमा आयोजित कार्यक्रममा बोल्दै उनले सभापति गगन कुमार थापालाई पार्टी एकता जोगाउन आग्रह गर्दै थुप्रै प्रश्नहरू तेर्स्याएका हुन्।

मुख्यमन्त्री शाहले पार्टी सभापति शेरबहादुर देउवा र आरजु राणा देउवामाथि भइरहेका पछिल्ला प्रहारहरू स्वाभाविक हुन् कि अस्वाभाविक भन्दै स्पष्टीकरण मागेका छन् । ‘२३ र २४ गते देउवा दम्पतीमाथि भएको आक्रमणको नियत के हो? आज शेरबहादुर देउवालाई टिकटबाट किन वञ्चित गरियो? अब उहाँको स्थान कहाँ हुन्छ?’ शाहले प्रश्न गरे, ‘नेतृत्वको सम्मान र योगदानको मूल्यांकन नहुने परिपाटीले पार्टी कहाँ पुग्छ?’

मुख्यमन्त्री शाहले धनगढीमा पार्टीका शीर्ष नेताहरू आउँदा संगठन सुदृढीकरण भन्दा पनि सरकार परिवर्तनको चर्चाले प्राथमिकता पाएकोमा आपत्ति जनाएका छन् । सभापतिले समानुपातिक सांसदलाई फिर्ता बोलाएरै भए पनि सरकार बदल्ने विषय उठाएको प्रति संकेत गर्दै उनले भने, ‘म मुख्यमन्त्री पद जोगाउन विमानस्थल धाएको होइन, न त यो मञ्चमा नै आएको हुँ। सिंगो कांग्रेस एक होस् भन्ने मनसायले यहाँ उपस्थित भएको हुँ।’

गगन थापालाई भविष्यको नेतृत्वका रूपमा स्वीकार गर्दै शाहले उनलाई १० वर्षसम्म पार्टी हाँक्ने शुभकामना समेत दिए। तर, उनले थापाको कार्यसमितिभित्रै पार्टी सिध्याउने तत्वहरू रहेको दाबी गरे। ‘गगन थापालाई सभापति मान्न कुनै विमति छैन, तर तपाईंको कार्यसमितिभित्रै केही यस्ता ‘भाइरस’ हरू छन् जसले तपाईंलाई नै समाप्त पार्न सक्छन्, त्यस्ता तत्वबाट सावधान रहनुस्,’ उनले चेतावनी दिए।

उनले वर्तमान राजनीतिक परिस्थितिलाई बुझेर नयाँ र पुराना पुस्तालाई समन्वय गर्दै अघि बढ्नुपर्नेमा जोड दिएका छन् । पार्टीभित्र निषेधको राजनीति त्यागेर एकता र सहकार्यको वातावरण निर्माण नगरे कांग्रेस कमजोर हुने उनको भनाइ थियो।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

धेरै पढिएका

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट