Techie IT
२०८३ जेष्ठ ९, शनिबार

ओलीविरुद्ध आफ्नै विश्वासपात्रहरूको 'विद्रोह': बालकोट रणनीति संकटमा, कसरी भयो बैठकमा चर्काचर्की


नेकपा एमालेको सचिवालय बैठकमा शुक्रबार अभूतपूर्व दृश्य देखियो। अन्य दिनको तुलनामा अध्यक्ष केपी शर्मा ओलीको भक्तपुर, गुण्डुस्थित निवासमा बसेको बैठकको माहोल निकै तनावपूर्ण र भिन्न रह्यो। बैठकका लागि ११ वटा कार्यसूची (एजेण्डा) तय गरिएका थिए।

तर, ती एजेण्डा औपचारिकतामा मात्र सीमित भएको भन्दै केही सचिवालय सदस्यहरूले असन्तुष्टि जनाएका थिए । सदस्यहरूको असन्तोषपछि अध्यक्ष ओलीले जेनजी (Gen Z) आन्दोलन, सम्पन्न निर्वाचन र पार्टीको वर्तमान अवस्थाबारे ब्रिफिङ सुरु गरे। त्यसलगत्तै उपाध्यक्षहरूलाई बोल्ने पालौ दिइएको थियो।

ओलीपछि बोलेका उपाध्यक्ष रामबहादुर थापा 'बादल' ले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय राजनीतिको व्याख्या गर्दै पार्टीको आन्तरिक संकट कोट्याए। उनले हालैको निर्वाचनमा पार्टीले भोगेको लज्जास्पद पराजयको दोष देशी–विदेशी शक्तिमाथि थोपरेका थिए ।

"हामी र हाम्रो पार्टीमाथि चौतर्फी हमला भइरहेको छ। यसमा देशी–विदेशी प्रतिक्रियावादी शक्तिहरू सामेल छन्, जसका कारण पार्टी पराजित हुन पुग्यो," बादलले भने। अध्यक्ष ओलीले तत्कालै बादलको भनाइको समर्थन गर्दै त्यही नै पार्टीको आधिकारिक धारणा हुनुपर्ने जिकिर गरे। तर, बादल र ओलीको यो विश्लेषणलाई अन्य नेताहरूले सहजै स्वीकार गरेनन्। उपाध्यक्षद्वय विष्णु पौडेल र पृथ्वीसुब्बा गुरुङले सो व्याख्याको कडा प्रतिवाद गरे।

ओलीलाई गुरुङको कटाक्ष : पार्टी तपाईंको प्राइभेट कम्पनी हो ?
अध्यक्ष र उपाध्यक्षहरूबीच बैठक कक्षमै भनाभन र चर्काचर्की परेपछि केहीबेर सन्नाटा छायो। "शीर्ष नेताहरूबीच त्यसरी आक्रोशपूर्ण बहस र व्यक्तिगत तहकै भनाभन भएको एमाले इतिहासमै सायद यो पहिलो घटना हो," एक सचिवालय सदस्यले बैठकको माहोलबारे जानकारी दिँदै रैवारप्रेस सँग भने।

ती नेताका अनुसार बैठकभरि नेताहरूको बडी ल्याङ्ग्वेज निकै कठोर देखिन्थ्यो भने अनुहारमा आक्रोश प्रस्टै बुझिन्थ्यो। "स्थिति यतिसम्म तनावपूर्ण बन्यो कि एक नेताले बोल्दाअर्काले बीचमै रोक्ने र प्रतिवाद गर्ने क्रम चल्यो। अध्यक्ष ओली आफैँले बीच-बीचमा हस्तक्षेप गरेर नेताहरूलाई रोक्नुपरेको थियो," उनले थपे।

शुक्रबारको बैठकमा एमालेका पाँच उपाध्यक्षमध्ये बादलबाहेक बाँकी चारै जना (अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, विष्णु पौडेल र पृथ्वीसुब्बा गुरुङ) ओलीको राजीनामाको पक्षमा खुलेर उभिएपछि स्थिति अनपेक्षित बन्यो। उपाध्यक्षहरूले अध्यक्ष ओलीलाई 'मार्ग प्रशस्त' गर्न दिएको ठाडो सुझाव ओली र बादललाई पटक्कै मन परेको थिएन।

"पार्टीलाई थप संकटबाट जोगाउने हो भने नेतृत्वले पराजयको जिम्मेवारी लिएर मार्ग प्रशस्त गर्नुपर्छ भन्ने चार उपाध्यक्षको स्पष्ट अडान थियो," स्रोतले भन्यो, "तर यो कुरा स्वीकार गर्ने मुडमा अध्यक्ष हुनुहुन्नथ्यो। त्यसैले बैठक नोकझोकमा परिणत भयो।"

गत फागुनमा सम्पन्न निर्वाचनमा एमाले प्रत्यक्षतर्फ ९ र समानुपातिकतर्फ १६ गरी कुल २५ सिटमा खुम्चिएको छ। पार्टी इतिहासकै कमजोर अवस्थामा पुग्नुको मुख्य जिम्मेवार ओली नै भएको भन्दै पार्टीभित्र राजीनामाको आवाज उठ्दै आएको थियो।

पार्टीभित्र 'ओलीबाट अब एमाले चल्न सक्दैन' भन्ने निष्कर्षसहित केही नेता–कार्यकर्ताहरूले पार्टी पुनर्गठन र नेतृत्व परिवर्तनका लागि गोप्य हस्ताक्षर अभियान समेत चलाइसकेका छन्। यही जनभावना बुझेका शीर्ष नेताहरूले बैठकमा ओलीमाथि दबाब बढाएका हुन्। तर, ओली सच्चिन तयार देखिएका छैनन्।

बरु, विगतमा आफ्ना खम्बा मानिएका विष्णु पौडेल र महासचिव शंकर पोखरेल समेत विपक्षमा उभिने संकेत पाएपछि ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यता खुला गरेर आफूमाथिको घेराबन्दी मत्थर पार्ने रणनीति (कार्ड) चालेको नेताहरू बताउँछन्।

सचिवालय बैठकको अन्तिमतिर अध्यक्ष ओलीले आफू नसच्चिने बरु 'अराजक हुनेहरूलाई कारबाही गर्ने' भन्दै नेताहरूलाई उल्टै धम्काउन थालेपछि उपाध्यक्ष पृथ्वीसुब्बा गुरुङ आक्रोशित बनेका थिए।

गुरुङले ओलीको शैलीमाथि गम्भीर प्रश्न उठाउँदै प्रतिवाद गरे "यो पार्टी तपाईंको प्राइभेट कम्पनी हो? आफ्ना सहकर्मीहरूसँग मर्यादित संवाद गर्न समेत तपाईंलाई आउँदैन?"



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट