Techie IT
२०८३ असोज १०, शनिबार

परम्परा मिचेर राष्ट्रपति गुहार्ने प्रधानमन्त्रीको कदम अशोभनीय: नेपाली कांग्रेस


वासना थापा, नेपाली कांग्रेस संसदीय दलकी प्रमुख सचेतक

नेपाली कांग्रेसले गणतन्त्र दिवसको अवसरमा सैनिक मञ्च टुँडिखेलमा आयोजना हुने विशेष समारोहलाई प्रधानमन्त्री बालेन्द्र शाहले सम्बोधन नगर्ने अडान लिनु अत्यन्तै अशोभनीय र गैरजिम्मेवारपूर्ण भएको ठहर गरेको छ । बिहीबार बसेको कांग्रेस संसदीय दलको बैठकले प्रधानमन्त्रीको यस्तो कदम जनताप्रतिको अनुत्तरदायित्वको पराकाष्ठा भएको निष्कर्ष निकालेको हो ।

बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रमुख सचेतक वासना थापाले स्थापित लोकतान्त्रिक परम्परा विपरीत प्रधानमन्त्रीले विशेष समारोहलाई सम्बोधन नगर्ने भनी बाहिर आएको विषयमा गम्भीरतापूर्वक छलफल भएको बताइन् ।

"प्रधानमन्त्रीको यो निर्णयलाई हामीले जनताप्रतिको उत्तरदायित्वको कमी र घोर गैरजिम्मेवारीपनका रूपमा बुझेका छौँ," प्रमुख सचेतक थापाले भनिन्, "यदि समारोहमा जान नसकिने कुनै ठोस कारण थियो भने त्यो खुलाउनुपर्थ्यो । कारण पनि नखुलाउने र सम्बोधन पनि नगर्ने कार्य सर्वसत्तावादी चरित्र हो ।"

प्रधानमन्त्री शाहले गणतन्त्र दिवसको विशेष समारोहमा आफूले सम्बोधन गर्नुको साटो राष्ट्रपति रामचन्द्र पौडेललाई सिफारिस गरेका छन्, जसलाई कांग्रेसले शक्तिको गलत अभ्यास भनेको छ ।

दुई तिहाइको दम्भले जनतामा निराशा
बैठकले शाह नेतृत्वको सरकारका जनविरोधी निर्णय र कार्यशैलीका कारण मुलुकमा चरम निराशा छाएको निष्कर्ष समेत निकालेको छ । सरकारले संसद्लाई समेत लाचार छायाँ बनाउन खोजेको भन्दै कांग्रेसले गम्भीर आपत्ति जनाएको छ ।

विगतमा सरकारहरूले प्रतिपक्षी दलसँग संवाद र सहमतिका आधारमा संसद् सञ्चालन गर्ने गरेको स्मरण गराउँदै प्रमुख सचेतक थापाले भनिन्, "अहिले सरकार दुई तिहाइको मत छ भन्दै विपक्षीलाई पेलेर अघि बढ्न खोज्दैछ । बहुमतको यही दम्भ र अहंकारका कारण जनता सरकारसँग पूर्ण रूपमा निराश भइसकेका छन् ।"

यसैगरी, बैठकमा संसदीय दलको कार्यसमिति गठन गर्ने र संसद्का विभिन्न विषयगत समितिहरूमा पार्टीका तर्फबाट प्रस्तुत गरिने रणनीति तय गर्न संयोजक तोक्ने विषयमा छलफल भए पनि कुनै ठोस निर्णय हुन सकेन ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट