अमेरिकी उपविदेश सचिवसँग परराष्ट्रमन्त्रीले राखे नेपालका आर्थिक सहयोगमा प्राथमिकता
परराष्ट्रमन्त्री शिशिर खनाल र संयुक्त राज्य अमेरिकाकी राजनीतिक मामिला सम्बन्धी उपविदेश सचिव एलिसन हुकरबिच बिहीबार टेलिफोन संवाद भएको छ। अमेरिकी विदेश मन्त्रालयकी सार्वजनिक कूटनीतिक सम्बन्धी उपविदेशमन्त्री सारा बी रोजर्स जेठ १६ गते नेपाल भ्रमणमा आउन लागेको पूर्वसन्ध्यामा यो महत्त्वपूर्ण कूटनीतिक कुराकानी भएको हो।
संवादका क्रममा उपविदेश सचिव हुकरले मन्त्री खनाललाई परराष्ट्रमन्त्रीको कार्यभार सम्हालेकोमा बधाई तथा शुभकामना व्यक्त गरेकी थिइन् । प्रत्युत्तरमा मन्त्री खनालले नेपालको समग्र सामाजिक-आर्थिक विकासमा अमेरिकाले पुर्याउँदै आएको निरन्तर सहयोगका लागि नेपाल सरकारका तर्फबाट आभार प्रकट गरे।
परराष्ट्र मन्त्रालयका अनुसार, मन्त्री खनालले सुशासन, पूर्वाधार विकास, ऊर्जा, पर्यटन र डिजिटल प्रविधिको क्षेत्रमा बाह्य लगानी प्रवर्द्धन गरी आर्थिक वृद्धि हासिल गर्ने नेपाल सरकारको वर्तमान प्राथमिकताका बारेमा अमेरिकी पक्षलाई जानकारी गराएका थिए।
जवाफमा उपविदेश सचिव हुकरले नेपालले अघि सारेका राष्ट्रिय विकासका प्राथमिकताहरूको प्रसंशा गर्दै ती क्षेत्रमा नेपालसँग साझेदारी र सहकार्य गर्न अमेरिका सधैँ तयार रहेको प्रतिबद्धता जनाइन्।
संवादका क्रममा दुवै देशबिच रहेको आठ दशक लामो ऐतिहासिक एवं सहकार्यपूर्ण सम्बन्धको समीक्षा समेत गरिएको थियो। साथै, आपसी हितका विविध आयामहरूमा द्विपक्षीय तथा बहुपक्षीय मञ्चहरूमा पारस्परिक सहयोगलाई अझ सुदृढ र प्रगाढ बनाउँदै लैजाने प्रतिबद्धता दुवै पक्षबाट व्यक्त भएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस