प्रधानमन्त्री वालेनको भारतप्रस्त अभिव्यक्तिले रास्वपा भित्रै ल्यायो हलचल
प्रधानमन्त्री बालेन्द्र शाहको विवादास्पद अभिव्यक्तिलाई लिएर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्रै मतभेद देखिएको छ। पार्टीका एक समूहले प्रधानमन्त्रीले संसद्बाटै नेपाली जनता र देशसँग माफी माग्नुपर्ने माग अघि सारेका छन् भने अर्को समूहले माफी माग्न नपर्ने अडान लिएको स्रोतले जनाएको छ।
पार्टी सचिवालय स्रोतका अनुसार विवेकशील साझाबाट रास्वपामा प्रवेश गरेका नेताहरू तथा पार्टीभित्रका केही शीर्ष नेताहरू प्रधानमन्त्रीको अभिव्यक्ति सच्याउनुपर्ने पक्षमा छन्। तर प्रधानमन्त्री निकट मानिने समूह र केही अन्य नेताहरूले भने माफी आवश्यक नरहेको धारणा राखिरहेका छन्।
विवाद चर्किँदै गएपछि पार्टी सभापति रवि लामिछानेले केन्द्रीय समिति र सचिवालयका सदस्यहरूलाई तत्काल सार्वजनिक रूपमा धारणा नदिन निर्देशन दिएका छन्। यद्यपि विवेकशील साझाबाट रास्वपामा आएकी रञ्जु दर्शना र सांसद आशिका तामाङलगायत नेताहरूले सामाजिक सञ्जालमार्फत सांकेतिक रूपमा प्रधानमन्त्रीको अभिव्यक्तिप्रति असन्तुष्टि जनाइसकेका छन्।
यसअघि विवाद उत्पन्न हुँदा सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिने गरेका प्रधानमन्त्री शाहले भने पछिल्लो विवादबारे हालसम्म कुनै सार्वजनिक प्रतिक्रिया दिएका छैनन्। उनी परिस्थितिलाई नजिकबाट नियालिरहेको बुझिएको छ।
स्रोतका अनुसार प्रधानमन्त्रीका केही सल्लाहकारहरूले संसद्बाट माफी माग्दै विवादित अभिव्यक्ति संसदीय अभिलेखबाट हटाउन सुझाव दिएका छन्। तर प्रधानमन्त्रीले अहिलेसम्म सभामुख वा अन्य निकायलाई माफी माग्नेबारे कुनै जानकारी गराएका छैनन्।
सचिवालय बैठकमै उठ्यो विवाद
भारतीय जनता पार्टी (भाजपा) को निमन्त्रणामा पाँचदिने भारत भ्रमणमा निस्कनुअघि सोमबार बिहान रास्वपाको सचिवालय बैठक भर्चुअल माध्यमबाट बसेको थियो। बैठकमा प्रधानमन्त्रीको अभिव्यक्तिबारे लामो छलफल भएको सचिवालय स्रोतले जनाएको छ।
बैठकमा सहभागी एक सदस्यका अनुसार धेरै नेताहरूले सीमा र राष्ट्रिय सार्वभौमसत्ताजस्तो संवेदनशील विषयमा प्रधानमन्त्रीबाट आएको अभिव्यक्ति अनुचित भएको टिप्पणी गरेका थिए।
‘देशको सीमासम्बन्धी विषय अत्यन्त संवेदनशील हो। यस्ता विषय कूटनीतिक ढङ्गले समाधान हुनुपर्छ। पर्याप्त प्रमाण र तथ्यबिना सार्वजनिक रूपमा यस्तो अभिव्यक्ति दिनु उचित होइन भन्ने निष्कर्ष धेरै साथीहरूको थियो,’ ती सदस्यले भने।
केही नेताहरूले पार्टीले आधिकारिक धारणा सार्वजनिक नगरेसम्म सभापति लामिछाने भारत भ्रमणमा जान नहुने मतसमेत राखेका थिए। भारत भ्रमणका क्रममा यस विषयमा प्रश्न उठे पार्टीको आधिकारिक जवाफ के हुने भन्ने चिन्ता नेताहरूले व्यक्त गरेका थिए।



तपाईको प्रतिक्रिया दिनुहोस