संसदमा प्रधानमन्त्री नआएसम्म सदन चल्न नदिने विपक्षीको अडान
संसदमा प्रधानमन्त्री वालेन्द्र शाहको उपस्थितिको माग गर्दै विपक्षी दलहरूले सुरु गरेको अवरोध तत्काल नहट्ने भएको छ। प्रधानमन्त्री आफैँ उपस्थित भएर जवाफ नदिएसम्म प्रतिनिधिसभा बैठक चल्न नदिने अडानमा विपक्षी दलहरू टसमस भएका छैनन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले संसद्को गतिरोध अन्त्यका लागि बोलाएको सर्वदलीय बैठकमा समेत सहमति जुट्न सकेन। नेकपा (एमाले) का प्रमुख सचेतक ऐन महरका अनुसार, प्रधानमन्त्री उपस्थित भएर चित्तबुझ्दो जवाफ नदिएसम्म संसद अवरोध कायमै राख्ने जानकारी विपक्षी मोर्चाले गराएको छ।
बैठकमा रास्वपा सभापति लामिछानेले प्रधानमन्त्री संसद्मा उपस्थित नहुने बरु आवश्यक परे आफैँले जवाफ दिने प्रस्ताव राखेका थिए। तर, विपक्षी दलहरूले उक्त प्रस्तावलाई ठाडै अस्वीकार गर्दै प्रधानमन्त्रीकै भौतिक उपस्थिति अनिवार्य हुनुपर्ने अडान दोहोर्याए। महरका अनुसार, प्रधानमन्त्री शाह संसद्मा आएर जवाफ दिने कुनै तयारीमा नरहेको जानकारी समेत लामिछानेले बैठकमा गराएका थिए।
प्रधानमन्त्री वालेन्द्र शाहले जेठ १७ गते (रास्वपा सभापति लामिछाने भारत भ्रमणमा निस्किनुअघि) संसद्मै "नेपालले पनि भारतको भूमि मिचेको छ" भन्ने अभिव्यक्ति दिएका थिए। सोही अभिव्यक्तिलाई विपक्षी दलहरूले 'राष्ट्रघाती' र देशको स्वाधीनता एवं सार्वभौमसत्ता विपरीत भएको ठहर गरेका छन्।
प्रधानमन्त्रीको सोही गैरजिम्मेवारपूर्ण अभिव्यक्तिको विरोधमा विपक्षीले निरन्तर प्रतिनिधिसभा अवरुद्ध गर्दै आएका छन्। संसद् ठप्प भएपछि भारत भ्रमणबाट फर्किएका रवि लामिछानेले निकास खोज्न सर्वदलीय बैठक त बोलाए, तर प्रधानमन्त्रीको गैरजिम्मेवारीपनका कारण बैठक बिनानिष्कर्ष टुङ्गिएको छ। विपक्षीहरूले प्रधानमन्त्रीको जिम्मेवारपूर्ण जवाफ नआएसम्म सदनको अवरोध जारी रहने स्पष्ट पारेका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस