रास्वपा महाधिवेशन: चितवनमा जर्मन प्रविधिको 'डोम' बनाइँदै
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को यही असार ७ देखि ९ गतेसम्म चितवनको भरतपुरमा हुने प्रथम राष्ट्रिय महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छ। भरतपुर महानगरपालिका–१० स्थित गेष्टहाउस चौरमा हुने उद्घाटन समारोहका लागि भौतिक संरचना निर्माण तीव्र पारिएको हो।
उद्घाटन सत्रलाई भव्य र सुरक्षित बनाउन जर्मन प्रविधिमा आधारित आल्मुनियम संरचनायुक्त 'डोम' निर्माण भइरहेको छ। घाम, पानी र हावाहुरी प्रतिरोधी विशेष 'वाटरप्रुफ टेन्साइल फेब्रिक' को छानो रहने यो डोम अन्तर्राष्ट्रियस्तरका ठूला कार्यक्रममा प्रयोग हुने प्रकृतिको छ।
निर्माणको जिम्मा पाएको मिडिया स्पेस सोलुसन काठमाडौँका प्रबन्ध निर्देशक सिर्जल भट्टराईका अनुसार करिब तीन हजार वर्गमिटर क्षेत्रफलमा तीनवटा डोम जोडेर एउटै विशाल हल बनाइँदैछ। उक्त संरचनाभित्र एलइडी स्क्रिन, पङ्खा, कुलर र कुर्सी व्यवस्थापनका लागि पर्याप्त स्थान रहनेछ। भट्टराईले भने, "महाधिवेशन नजिकिएकाले हामीले चौबिसै घण्टा काम गरेर निर्माणलाई तीव्रता दिएका छौँ, यो पूर्ण रूपमा बलियो र मौसम प्रतिरोधी छ।"
रास्वपाले महाधिवेशनको उद्घाटन सत्रमा देशका प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूका साथै छिमेकी मुलुकका प्रतिनिधिलाई समेत आमन्त्रण गरेको छ। महाधिवेशनमा देशभरबाट करिब तीन हजार प्रतिनिधि सहभागी हुँदैछन्।
केन्द्रीय सदस्य राजन गौतमका अनुसार महाधिवेशनमा आउने सहभागी तथा आगन्तुकका सवारीसाधनका लागि केन्द्रीय बस टर्मिनल क्षेत्रमा पार्किङको व्यवस्था मिलाइएको छ। गेष्टहाउस चौरमा उद्घाटन सत्र सकिएपछि रास्वपाको बन्दसत्र भने नजिकै रहेको चितवन उद्योग सङ्घको औद्योगिक प्रदर्शनी केन्द्रमा सञ्चालन गरिनेछ।



तपाईको प्रतिक्रिया दिनुहोस