Techie IT
२०८३ असार ५, शुक्रबार

ओली नेतृत्वलाई 'पुनर्जागरण अभियान' को अन्तिम चेतावनी- "इतिहासको निर्माता बन्ने कि आन्दोलनको मलामी?"


नेकपा (एमाले) भित्र नीति, विचार र नेतृत्वमा आमूल परिवर्तनको माग गर्दै सुरु भएको ‘नेकपा (एमाले) रूपान्तरण र पुनर्संरचनाका लागि पुनर्जागरण अभियान-२०८२’ ले देशव्यापी रूपमा आफ्नो गतिविधि तीव्र पारेको छ।

चुनावी समीक्षा एवं पार्टी पुनर्गठनको बहस चलिरहेका बेला अभियानले नेता-कार्यकर्तामाझ ‘विशेष अनुरोध’ सहितको अपिल पठाएर आन्तरिक विद्रोहको विजारोपण गरेको हो। यस अपिललाई पार्टी पुनर्गठनको पक्षमा रहेका कतिपय पदाधिकारीहरूको समेत गुप्त साथ रहेको स्रोतको दाबी छ।

अभियानद्वारा जारी अपिलमा एमालेले आफ्नो ऐतिहासिक गौरव र जनआकर्षण गुमाउँदै गएको र संसदीय राजनीतिमा अहिलेसम्मकै कमजोर अवस्थामा पुगेको दाबी गरिएको छ। पुष्पलालको सपना र जननेता मदन भण्डारीद्वारा प्रतिपादित ‘जनताको बहुदलीय जनवाद’ (जबज) को मर्म मर्न लागेको भन्दै अभियानले वर्तमान शीर्ष नेतृत्वको कार्यशैलीप्रति गम्भीर प्रश्न उठाएको छ।

पार्टीमा आन्तरिक जनवाद खुम्चिँदै गएको, नेतृत्वमा अहङ्कार बढेको र गत फागुनको निर्वाचनमा व्यहोर्नुपरेको पराजयको नैतिक जिम्मेवारी कसैले नलिनु विडम्बनापूर्ण भएको अपिलमा उल्लेख छ। विशेष गरी राजधानीका अधिकांश क्षेत्रमा व्यहोर्नुपरेको लज्जास्पद हारलाई नेतृत्वको असफलताका रूपमा चित्रण गरिएको छ। "पुरानो पुस्तामा निष्क्रियता बढ्नु र नयाँ पुस्ता वैदेशिक पलायन हुनुले पार्टीको वैचारिक र सङ्गठनात्मक ऊर्जा समाप्त पारेको छ," अपिलमा भनिएको छ । पार्टीलाई विघटनबाट बचाउन र पुनर्जीवित गर्न अभियानले नेतृत्वसमक्ष निम्नलिखित बाध्यात्मक सुधारका योजनाहरू अघि सारेको छ:

- नेतृत्व परिवर्तन: रूपान्तरणको पहिलो र अनिवार्य सर्तका रूपमा वर्तमान नेतृत्वको बहिर्गमन र नयाँ नेतृत्व चयन हुनुपर्ने।
- दुई कार्यकालको व्यवस्था: कुनै पनि व्यक्ति एउटै कार्यकारी पद र जिम्मेवारीमा दुई कार्यकालभन्दा बढी बस्न नपाउने कानुनी ग्यारेन्टी।
- पुस्तान्तरण (४०% युवा): पार्टीका सबै कमिटीहरूमा ६० प्रतिशत पुराना र कम्तीमा ४० प्रतिशत नयाँ पुस्ताका युवाहरूलाई अनिवार्य सहभागी गराइने।
- प्रत्यक्ष निर्वाचन प्रणाली: पार्टी नेतृत्व र निर्वाचनका उम्मेदवार चयन गर्दा थुपारिएका प्रतिनिधिबाट नभई सबै तहका आम सदस्यहरूले प्रत्यक्ष मतदान गर्न पाउनुपर्ने।
- शैक्षिक योग्यताको मापदण्ड: नीति निर्माणको मुख्य तहमा रहने नेतृत्वका लागि कम्तीमा स्नातक (Bachelor's Degree) उत्तीर्ण गरेको हुनुपर्ने नयाँ नियम।
- पारदर्शी जीवनशैली: नेताहरूको विलासी जीवनशैली र अपारदर्शी व्यवहारमा सुधार नआएसम्म जनताले विश्वास नगर्ने दाबी।

अभियानले वर्तमान शीर्ष नेतृत्वलाई लक्षित गर्दै यो समय ‘इतिहासको निर्माता’ वा ‘आन्दोलनको मलामी’ मध्ये एउटा रोज्ने अन्तिम अवसर भएको कडा चेतावनी दिएको छ। अपिलको अन्त्यमा भनिएको छ, "तपाईंको आजको एउटा निर्णयले भविष्यमा नायक वा खलनायकका रूपमा चित्रण गर्नेछ।" पार्टीलाई पुनर्गठित गर्दै जनमुखी बनाउन सबै तहका कार्यकर्ताहरूलाई अब मुख खोल्न र रूपान्तरणको पक्षमा खुलेर उभिन अभियानका एक केन्द्रीय नेताले आह्वान गरेका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट