Techie IT
२०८३ असार ५, शुक्रबार

रास्वपा महाधिवेशनको सरगर्मी: महाधिवेशन प्रतिनिधिहरूको सूची सार्वजनिक हुँदै


सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो पहिलो ऐतिहासिक महाधिवेशनका लागि प्रतिनिधिहरूको नामावली आज सार्वजनिक गर्दैछ। आगामी असार ७ देखि ९ गतेसम्म चितवनमा आयोजना हुने महाधिवेशनका लागि रास्वपा केन्द्रीय निर्वाचन आयोगले अन्तिम नामावली प्रकाशनको तयारी पूरा गरेको हो।

रास्वपा निर्वाचन आयोगका अनुसार महाधिवेशनमा सुरुमा २ हजार ५ सय प्रतिनिधिको अनुमान गरिए पनि पार्टी सचिवालयको पछिल्लो निर्णयका कारण संख्या बढ्ने भएको छ। अधिवेशन हुन नसकेका मधेश प्रदेशका जिल्लासहित देशभरका १५ जिल्लाबाट समेत प्रतिनिधि सहभागी गराउने निर्णय भएपछि अब कुल प्रतिनिधिको संख्या करिब ३ हजार पुग्ने अनुमान गरिएको छ।

महाधिवेशनलाई प्रविधिमैत्री बनाउन रास्वपाले विद्युतीय मतदान (E-Voting) को व्यवस्थापनलाई तीव्र पारेको छ। भौतिक व्यवस्थापन र तयारीका लागि निर्वाचन आयोगको एउटा टोली आजै चितवन प्रस्थान गरिसकेको छ। महाधिवेशन सञ्चालनका लागि १८ वटा विभिन्न उपसमितिहरू गठन गरिएका छन् भने बन्दसत्र र उद्घाटन सत्रका लागि करिब १ हजार पर्यवेक्षक तथा स्वयंसेवक परिचालन गरिने पार्टीले जनाएको छ।

रास्वपाले आफ्नो पहिलो महाधिवेशनको उद्घाटन सत्रमा संसद्का प्रमुख दलका शीर्ष नेताहरूलाई निम्तो पठाएको छ। आमन्त्रित अतिथिहरूमा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति गगन थापा, नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड' र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन रहेका छन्।

यसैगरी, रास्वपाले विशेष अतिथिका रूपमा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज साङपाङ (राई) लाई समेत निमन्त्रणा गरेको थियो। तर, साङ्पाङले रास्वपाको महाधिवेशनमा आफू सहभागी नहुने स्पष्ट पारेका छन्। उनले सामाजिक सञ्जालमार्फत सार्वजनिक रूपमै रास्वपाको निम्तो अस्वीकार गरेको घोषणा गरेका हुन्।

पहिलो महाधिवेशनबाटै रास्वपाले आफ्नो साङ्गठनिक ढाँचामा ठूलो फेरबदल गर्ने रणनीति लिएको छ। पार्टी समायोजन प्रक्रियाबाट भित्रिएका नेता-कार्यकर्ताहरूलाई व्यवस्थापन गर्न रास्वपाले आफ्नो विधान संशोधन गर्ने तयारी गरेको छ। विधान संशोधन गरेर पदाधिकारी र केन्द्रीय सदस्यहरूको सङ्ख्या उल्लेख्य रूपमा बढाउने निर्णय सचिवालयले गरिसकेको छ, जसलाई महाधिवेशनले अनुमोदन गर्नेछ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट