प्रदेशसभा खारेज गर्ने रास्वपाको निर्णय फिर्ता लिन आजपाको दबाब
सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले चितवन महाधिवेशनबाट प्रदेशसभा खारेज गर्ने प्रस्ताव पारित गरेको विषयमा आम जनता पार्टी (आजपा)ले उक्त निर्णय तत्काल फिर्ता लिन माग गरेको छ।
आजपा प्रवक्ता तिलक थापा मगरले बिहीबार जारी गरेको प्रेस विज्ञप्तिमार्फत रास्वपाको निर्णयप्रति गम्भीर आपत्ति जनाएका हुन्। उनले विविधता र असमानताले भरिएको नेपाली समाजमा संघीयता लामो त्याग, संघर्ष र बलिदानबाट प्राप्त उपलब्धि भएकाले त्यसको ऐतिहासिक महत्वलाई रास्वपाले नजरअन्दाज गर्न नहुने बताएका छन्।
विज्ञप्तिमा भनिएको छ, ‘संघीयता कार्यान्वयनका क्रममा यसको संरचनालाई थप सुदृढ बनाउनुपर्ने बेला स्वेच्छाचारी ढंगले प्रदेशसभा खारेज गर्ने प्रतिवेदन पारित गर्नु स्वयं रास्वपाकै लागि प्रतिउत्पादक साबित हुनेछ। रास्वपाले तत्काल यो निर्णय फिर्ता लिएर पुनरावलोकन गर्न हाम्रो पार्टी विशेष आग्रह गर्दछ।’
आजपाले रास्वपाले निर्वाचनका बेला गरेको राजनीतिक प्रतिबद्धताविपरीत संघीय संरचनामाथि नै प्रहार गर्ने गरी पछाडि फर्किएको आरोप लगाएको छ। यस्तो कदम जनमतको अपमान भएको उसको ठहर छ।
‘विगतमा पुराना दलहरूले गरेका विकृत अभ्यासको आलोचना गर्दै आफूलाई नयाँ विकल्पका रूपमा प्रस्तुत गरेको रास्वपाले जनमत लिने बेला एकथरी कुरा गर्ने र जनादेश प्राप्त गरेलगत्तै त्यसको ठीक विपरीत निर्णय गर्नु लोकतन्त्रको उपहास हो,’ विज्ञप्तिमा उल्लेख छ।
आजपाले संघीयता सुदृढ बनाउने वाचा गरेर जनमत बटुलेको दलले सरकारमा पुगेको छोटो समयमै प्रदेशसभा खारेजको प्रस्ताव अघि सार्नु आपत्तिजनक भएको जनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस