सागर ढकालद्वारा महामन्त्रीमा उम्मेदवारी घोषणा
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को हालै सम्पन्न केन्द्रीय सदस्य निर्वाचनमा चौथो सर्वाधिक मत प्राप्त गरेका सागर ढकालले महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्। केन्द्रीय सदस्यमा विजयी भएपछि उनले पार्टीको आगामी नेतृत्व तहमा सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धतासहित महामन्त्रीमा प्रतिस्पर्धा गर्ने निर्णय सार्वजनिक गरेका हुन्।
ढकालले आफूलाई अत्यधिक मतका साथ विजयी गराउने मतदाता, समर्थक तथा शुभेच्छुकप्रति आभार व्यक्त गरेका छन्। मतपत्रमा आफ्नो नाम खोज्न नै चुनौतीपूर्ण रहे पनि मतदाताले विश्वासका साथ मतदान गरेको भन्दै उनले धन्यवाद ज्ञापन गरेका छन्।
‘मतपत्रमा नाम खोज्न एकदमै गाह्रो हुँदाहुँदै पनि मलाई पहिलो चार जनाभित्र पारेर अत्यधिक मतका साथ विजयी गराउनु भएकोमा यहाँहरू सबैलाई धेरै–धेरै धन्यवाद दिन चाहन्छु,’ ढकालले सामाजिक सञ्जालमार्फत लेखेका छन्।
ढकालले अब पार्टीभित्र केवल सल्लाहकारको भूमिकामा सीमित नरहने स्पष्ट पारेका छन्। संगठन र देशलाई सही दिशामा अघि बढाउन आफूले नेतृत्वदायी भूमिका निर्वाह गर्ने उनको भनाइ छ।
रास्वपाको अधिवेशनका क्रममा समय व्यवस्थापनको महत्व महसुस भएको बताउँदै ढकालले आगामी दिनमा समयको कडा पालना गर्ने र गराउने प्रतिबद्धता समेत जनाएका छन्। समय अनुशासनलाई संगठनको सफलताको आधारका रूपमा स्थापित गर्नुपर्ने उनको धारणा छ।
केन्द्रीय सदस्यमा बलियो जनसमर्थन प्राप्त गरेपछि उत्साहित बनेका ढकालले अब दोस्रो चरणअन्तर्गत महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन्।
“अब दोस्रो चरणमा मैले महामन्त्री पदमा उम्मेदवारी दिने निर्णय गरेको छु। सदाझैँ यहाँहरूको माया, साथ र सद्भावको अपेक्षा गर्दछु” उनले भनेका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस