देउवा पुत्र जयवीरलाई सम्पत्ति शुद्धीकरण विभागको ७ दिने पुर्जी, घरमै टाँसियो सूचना
नेपाली कांग्रेसका निवर्तमान सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका छोरा जयवीरसिंह देउवामाथि सम्पत्ति शुद्धीकरणको कसुरमा अनुसन्धान सुरु भएको छ। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले उनलाई ७ दिनभित्र उपस्थित हुन भन्दै पुर्जी काटेको हो।
सोमबार विभागका अधिकारीहरूले बुढानीलकण्ठ नगरपालिका–२ स्थित देउवा निवासको बाहिरी ढोकामा म्याद (सूचना) टाँस गरेका छन्। सो क्रममा स्थानीय प्रहरी र बुढानीलकण्ठ–२ का वडाध्यक्ष राजेन्द्र श्रेष्ठलाई समेत साक्षी राखिएको थियो। वडाध्यक्ष श्रेष्ठले विभागले पत्र टाँस गरेलगत्तै आफूले देउवा परिवारलाई सम्पर्क गरेर यसबारे जानकारी गराइसकेको पुष्टि गरे। उक्त सूचना मङ्गलबारको गोरखापत्र दैनिकमा समेत प्रकाशित भएको छ।

विभागले जारी गरेको पत्रमा भनिएको छ, “सम्पत्ति शुद्धीकरण कसुरको जाँचबुझ/अनुसन्धानको सिलसिलामा तपाईंसँग केही कुरा बुझ्नुपर्ने भएकाले सूचना प्रकाशन भएको मितिले बाटोको म्यादबाहेक ७ दिनभित्र यस विभागको कार्यालय हरिहरभवन, ललितपुर (कर्मचारी सञ्चय कोष भवन) मा कार्यालय समयभित्र हाजिर हुन आउनुहोला। उपस्थित नभए कानुनबमोजिम कारबाही अघि बढ्नेछ।”
विभागले यसअघि नै पूर्वप्रधानमन्त्री देउवा र उनकी पत्नी एवं पूर्वपरराष्ट्रमन्त्री आरजू राणा देउवामाथि पनि अनुसन्धान सुरु गरिसकेको छ। यसअघि अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पनि ई-पासपोर्ट (E-Passport) खरिद प्रकरणको छानबिनका लागि आरजू राणाको नाममा पत्र काटेको थियो।
अनुसन्धानको घेरामा परेका देउवा दम्पती भने विगत चार महिनादेखि हङकङमा छन्। गत चैत ६ गते उनीहरू उपचार र पारिवारिक कार्यक्रमका लागि भन्दै हङकङ प्रस्थान गरेका थिए। सुरुमा साता-दश दिनमा फर्किने भनिए पनि देउवा दम्पती हालसम्म स्वदेश फर्किएका छैनन्।



तपाईको प्रतिक्रिया दिनुहोस