रास्वपा जति छिटो उदायो, त्यति नै छिटो ढल्ने जोखिम छ - महासचिव शंकर पोखरेल
नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले 'पपुलिस्ट' (लोकरिझ्याइँ गर्ने) शक्तिहरू असफल भएपछि सिर्जना हुने जनमतलाई मूलधारको राजनीतिमा फर्काउनु प्रमुख चुनौती रहेको बताएका छन्। आइतबार पार्टी कार्यालयमा आयोजित सांसद प्रशिक्षण कार्यक्रममा बोल्दै महासचिव पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) असफल हुँदैमा जनता स्वतः पुराना दलतर्फ फर्किन्छन् भन्ने भ्रममा नपर्न चेतावनी पनि दिएका छन् ।
उनीहरूको असफलतामा हामी सफल हुन्छौँ भनेर ढुक्क भएर बस्यौँ भने, एउटा पपुलिज्मको ठाउँमा अर्को पपुलिज्मले ठाउँ लिन सक्छ । पोखरेलले भने- “आजको पपुलिस्ट शक्ति असफल भइसकेपछि मूलधारको राजनीतितर्फ नै जनमत फर्किन्छ भन्ने कुनै ग्यारेन्टी छैन।”
महासचिव पोखरेलले अस्वाभाविक रूपमा उदाएको रास्वपाको अवसानको जोखिम पनि उत्तिकै रहेको टिप्पणी गरे। रास्वपालाई विचारहीन शक्तिका रूपमा चित्रण गर्दै उनले थपे, “जुन शक्ति अहिले राज्यको नेतृत्वमा छ, त्यो पपुलिज्म (लोकरिझ्याइँ), एनार्किजम (अराजकता) र अपर्चुनिजम (अवसरवाद) को कम्बिनेसन (मिश्रण) बाट बनेको हो। यो लामो समयसम्म जनताका अपेक्षाहरू पूरा गरेर स्थिर रहन सक्ने प्रकृतिको शक्ति होइन। जति छिटो यसको विकास भएको छ, त्यति नै छिटो यसको अवसान हुने जोखिम पनि छ।”



तपाईको प्रतिक्रिया दिनुहोस