साउनभित्रै स्वदेश फर्कने घोषणा गर्दै देउवाले भने - अख्तियार र अदालतलाई औजार बनाइँदै छ
नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सरकारले प्रतिपक्षप्रति प्रतिशोधको राजनीति सुरु गरेको र संवैधानिक निकायहरूलाई आतंकित बनाउन खोजेको गम्भीर आरोप लगाएका छन्।
जननायक बिपी कोइरालाको स्मृति दिवसको अवसरमा हङकङबाट एक विशेष प्रेस विज्ञप्ति जारी गर्दै पूर्वप्रधानमन्त्री देउवाले वर्तमान सरकारले स्वतन्त्र न्यायपालिका र संवैधानिक संस्थाहरूमाथि दबाब सिर्जना गर्न थालेको उल्लेख गरेका हुन्।
विज्ञप्तिमा भनिएको छ - न्यायपालिका र अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई कार्यकारी नियन्त्रणमा राखी प्रतिपक्षलाई आतंकित गर्ने औजार बनाउन खोजिँदै छ । भौतिक र मनोवैज्ञानिक त्रास सिर्जना गरेर प्रतिपक्षलाई दबाउने प्रवृत्ति कुनै पनि लोकतान्त्रिक समाजका लागि स्वीकार्य हुन सक्दैन। यस्तो प्रवृत्तिले देशको लोकतन्त्र, संविधान र राष्ट्रियता नै जोखिममा पर्ने देउवाको तर्क छ।
उपचारका क्रममा विदेशमा रहे पनि आफ्नो ध्यान र चिन्ता सधैँ देश र जनताप्रति नै केन्द्रित रहेको उल्लेख गर्दै उनले यसै साउन महिनाभित्र स्वदेश फर्किन लागेको जानकारी दिएका छन्। देउवाका स्वकीय सचिव भानु देउवाले पनि पूर्वप्रधानमन्त्री देउवा साउनभित्रै स्वदेश फर्कने तयारीमा रहेको पुष्टि गरेका छन्।
मुलुकमा अहिले प्रतिशोध र निषेधको राजनीति हाबी हुन थालेको भन्दै देउवाले बिपी कोइरालाको २०३३ सालको ‘राष्ट्रिय मेलमिलाप नीति’को स्मरण गराएका छन्। “आज देशलाई विभाजन होइन एकता, अविश्वास होइन विश्वास र प्रतिशोध होइन सहकार्य चाहिएको छ” उनले भने।
आफ्नो छ दशक लामो राजनीतिक यात्राको स्मरण गर्दै उनले कांग्रेसले जस्तोसुकै कठिन परिस्थितिमा पनि शान्ति प्रक्रिया, संविधान निर्माण र महाविपत्तिहरूको सामना गर्दै देशलाई निकास दिएको दाबी गरे। गत निर्वाचनमा जनताले युवा पुस्ताको हातमा सुम्पिएको जनादेशको सम्मान गर्ने बताउँदै उनले चुनाव भने त्रासदिपूर्ण वातावरणमा सम्पन्न भएको टिप्पणी गरेका छन् ।
गत भदौ २४ गते बुढानीलकण्ठस्थित निवासमै आक्रमणमा परेपछि देउवा दम्पती पटक-पटक उपचारका लागि विदेश जाँदै आएका छन्। स्वदेश फर्किने घोषणा गर्दै उनले भनेका छन्, “म छिट्टै नेपाली भूमिमा पुन: पाइला टेक्दैछु। सरकार प्रतिशोधात्मक बन्न सक्छ, तर मलाई नेपाली जनताको लोकतान्त्रिक चेतना र न्यायप्रतिको विश्वासमाथि पूर्ण भरोसा छ।”





तपाईको प्रतिक्रिया दिनुहोस