देशमा सुरक्षा नपाए विदेशिन बाध्य हुने पूर्वप्रधानमन्त्री नेपालको कडा चेतावनी
पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टीका सह-संयोजक माधवकुमार नेपालले सरकारले आफ्नो सुरक्षा र सुविधामा गम्भीर बेवास्ता गरेको भन्दै तीव्र असन्तुष्टि जनाएका छन्। देशमा सुरक्षा र सम्मान नपाए विदेशिन बाध्य हुने चेतावनीसमेत उनले दिएका छन्।
पत्रकार विनोद ढुङ्गेलसँगको कुराकानीमा पूर्वप्रधानमन्त्री नेपालले अन्य पूर्वप्रधानमन्त्री सरह आफूलाई सरकारले सेवा-सुविधा नदिएर विभेद गरेको गुनासो गरेका छन् । अन्य पूर्वप्रधानमन्त्रीहरूले सरकारी गाडी र इन्धन सुविधा प्रयोग गरिरहेको उल्लेख गर्दै उनले आफूले भने त्यो सुविधा नपाएको बताए। स्वाभिमानका कारण सरकारसँग हात फैलाएर सुविधा माग्न नजाने उनको भनाइ छ।
“विपक्षी दलका नेताले पूर्वप्रधानमन्त्रीको हैसियतमा गाडी र तेल पाएका छन्। मलाई दिएको भए लिन्थेँ, तर माग्न गइनँ,” नेपालले भने, “कानुनले दिने भन्छ भने दिने काम सरकारको हो। म 'हजुर मलाई सुरक्षा चाहियो' भन्दै माग्न जान्छु र?”
आफ्नो सुरक्षाको विषयमा बोल्दै उनले थपे, “अहिले मलाई कुनै सुरक्षा दिइएको छैन। काठमाडौँले सुरक्षा दिएन भने रौतहट जाउँला, त्यहाँ पनि भएन भने देशकै कुनै ठाउँ वा जङ्गल रोजौँला। देशको कुनै ठाउँ पनि सुरक्षित नभए विदेश गइदिन्छु।”
पत्रकारले “देशमै बसेर सामना गर्नुभन्दा विदेश जानुमा के स्वाभिमान?” भनी सोधेको प्रश्नमा उनले सरकारको अपहेलना सहेर नबस्ने स्पष्ट पारेका छन् । “सरकारले मेरो अस्तित्वलाई नै मतलब गर्दैन भने म के गरूँ? जहाँ सम्मान पाइन्छ, त्यहीँ जाने हो,” उनले भने।



तपाईको प्रतिक्रिया दिनुहोस