अर्जेन्टिनाका राष्ट्रपतिले ब्राजिलका राष्ट्रपति लुलालाई पागल भनेपछि उग्र बन्यो कूटनीतिक विवाद
अर्जेन्टिनाका राष्ट्रपति जाभियर मिलेईले ब्राजिल भ्रमणका क्रममा ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भा र त्यहाँको न्यायपालिकालगायत लोकतान्त्रिक संस्थामाथि कडा अपमानजनक टिप्पणी गरेपछि दुई देशबीच गम्भीर कूटनीतिक संकट पैदा भएको छ।
मिलेईको अभिव्यक्तिप्रति तीव्र आपत्ति जनाउँदै ब्राजिल सरकारले विरोधस्वरूप अर्जेन्टिनास्थित आफ्ना राजदूत जुलियो बिटेलीलाई परामर्शका लागि स्वदेश फिर्ता बोलाएको छ। ब्राजिलको साओ पाउलोमा आयोजित चुनावी र्यालीका क्रममा राष्ट्रपति मिलेईले ब्राजिलका राष्ट्रपति लुलालाई प्रत्यक्ष नाम नलिए पनि ‘चोर’ र ‘दोषी’ भन्दै आरोप लगाएका थिए।
उनले लुला विगतमा भ्रष्टाचारको अभियोगमा जेल परेको विषयलाई औंल्याउँदै कटाक्ष गरेका हुन्। यद्यपि, ती मुद्दाहरू पछि ब्राजिलको सर्वोच्च अदालतले रद्द गरिदिएको थियो र लुला सन् २०२२ मा पुनः राष्ट्रपतिमा निर्वाचित भएका थिए।
साओ पाउलोको उक्त कार्यक्रम अक्टोबरमा हुने राष्ट्रपति निर्वाचनका लागि विपक्षी उम्मेदवार एवम् पूर्वराष्ट्रपति जाइर बोल्सोनारोका छोरा फ्लाभियो बोल्सोनारोको चुनावी अभियान उद्घाटनका लागि आयोजना गरिएको थियो। कट्टर दक्षिणपन्थी मानिने मिलेईले मञ्चबाटै फ्लाभियो मात्रै “लुलालाई रोक्न सक्ने” एक मात्र उम्मेदवार भएको दाबी गरे।
यसैक्रममा, मिलेईले ब्राजिलको सर्वोच्च अदालतका न्यायाधीश अलेक्जान्द्रे दे मोराइसमाथि पनि व्यक्तिगत र अपमानजनक टिप्पणी गरेका छन् । न्यायाधीश मोराइसले सन् २०२२ को निर्वाचनपछि सत्ता कब्जा गर्ने षड्यन्त्र (सैनिक ‘कू’) गरेको अभियोगमा पूर्वराष्ट्रपति जाइर बोल्सोनारोलाई २७ वर्षको जेल सजाय सुनाएका थिए। हालै मात्र मोराइसले नजरबन्दमा रहेका बोल्सोनारोलाई भेट्न मिलेईले दिएको निवेदन समेत अस्वीकार गरिदिएका थिए।
ब्राजिलका विदेश मन्त्री माउरो भिएराले मिलेईको टिप्पणीलाई ब्राजिलको सार्वभौमसत्ता, जनता र लोकतान्त्रिक संस्थाहरूमाथिको "अस्वीकार्य हस्तक्षेप" भनेका छन्। राष्ट्रपति लुलाले प्रत्यक्ष नाम नलिई प्रतिक्रिया दिँदै भने, “ब्राजिलमा कसैले पनि आफ्नो सरोकार नभएको विषयमा नाक घुसाएको हामी सहँदैनौँ।” उता अर्जेन्टिनाभित्रै पनि राष्ट्रपति मिलेईको यो कदमको तीव्र आलोचना भएको छ। पूर्वराष्ट्रपति अल्बर्टो फर्नान्डेज र ब्यूनस आयर्सका गभर्नर एक्सल किसिलोफले मिलेईले अर्जेन्टिनाका जनताको प्रतिनिधित्व नगरेको र देशको प्रमुख व्यापारिक साझेदारसँगको सम्बन्ध जोखिममा पारेको बताएका छन्।
दक्षिण अमेरिकाका दुई ठूला अर्थतन्त्र र प्रमुख व्यापारिक साझेदारहरूबीचको यो कूटनीतिक टकराबले क्षेत्रीय व्यापार संगठन (मर्कोसुर) र आर्थिक सहकार्यमा गम्भीर असर पार्ने विश्लेषकहरूले चेतावनी दिएका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस