कप्तानगञ्ज घटना: मृतकलाई शहीद घोषणा गर्ने सरकारको निर्णय, पीडित पक्षसँग ६ बुँदे सहमति
सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा गत साउन १० गते प्रहरीको गोली लागेर ज्यान गुमाएका ओमप्रकाश मेहता र जयप्रकाश मेहताको परिवार र नेपाल सरकारबीच ६ बुँदे सहमति भएको छ।
गएराति गृहमन्त्री सुधन गुरुङ र पीडित परिवारका अभिभावकबीच भएको वार्तामा सहमति जुटेसँगै मृतकहरूको आज दिउँसो २ बजे अन्तिम संस्कार गरिने भएको छ। सम्झौताअघि गृहमन्त्री गुरुङले मृतकका परिवारलाई भेट्न घरमै पुग्नुका साथै घाइतेहरूको अस्पतालमै पुगेर स्वास्थ्य अवस्थाबारे जानकारी लिएका थिए।
सहमति पत्रका मुख्य बुँदाहरू
शहीद घोषणा र राहत: मृतक दुवै जनालाई शहीद घोषणा गर्ने प्रक्रिया सरकारले तत्काल अगाडि बढाउनेछ। साथै, प्रत्येक मृतकका परिवारलाई जनही १० लाख रुपैयाँ राहत स्वरूप उपलब्ध गराइनेछ।
छानबिन र कारबाही: घटनाको निष्पक्ष र प्रभावकारी छानबिन गरी दोषीउपर प्रचलित कानुनबमोजिम कडा कारबाही गरिनेछ। यसका लागि गठित छानबिन समितिको प्रतिवेदनका सिफारिसहरू यथाशीघ्र कार्यान्वयन गरिनेछ।
मदरसाको अनुसन्धान: देवानगञ्ज–३ स्थित मदरसाको कानुनी हैसियतबारे आवश्यक छानबिन तत्काल सुरु गरिनेछ।
रोजगारी: मृतकका परिवारका एक–एक जना योग्य सदस्यलाई सरकारले रोजगारीको अवसर उपलब्ध गराउनेछ।
स्मृति पार्क: स्थानीय सरकारसँग समन्वय गरी गाउँपालिकाको उपयुक्त स्थानमा मृतकद्वयको स्मृतिमा पार्क निर्माण गरिनेछ।

सम्झौता पत्रमा सरकारको तर्फबाट गृहमन्त्री सुधन गुरुङ र पीडित परिवारको तर्फबाट ओमप्रकाशका बुबा कृष्णदेव मेहता तथा जयप्रकाशका बुबा नरेश मेहताले हस्ताक्षर गरेका छन्। देवानगञ्ज गाउँपालिकाका अध्यक्ष बेचनप्रसाद मेहताका अनुसार, यो सहमतिसँगै तनावपूर्ण बनेको कप्तानगञ्ज क्षेत्रको अवस्था सामान्य बन्दै गएको छ।
हेर्नुहोस् सम्झौतापत्र-




तपाईको प्रतिक्रिया दिनुहोस