विचारविहिन नयाँ दलले देशको विकास गर्न सक्दैनन् - पूर्वप्रधानमन्त्री डा. भट्टराई
पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले मुलुकमा फेरि एकपटक राजनीतिक दलहरूबीच विघटन, पुनर्गठन तथा नयाँ राजनीतिक शक्ति निर्माणको चक्र सुरु भएको बताएका छन्। सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले प्रकृतिको नियम र समाजको विकासक्रमअनुसार यो प्रक्रिया स्वाभाविक र अनिवार्य रहेको उल्लेख गरेका छन्।
तर, केवल पुरानै नेता, विचार र प्रणालीलाई सामान्य फेरबदल गरी नयाँ रंगरोगन गरेर मात्र नयाँ युगको आवश्यकता पूर्ति गर्ने वैकल्पिक पार्टी निर्माण हुन नसक्ने उनको चेतावनी छ।
डा. भट्टराईले साँच्चै अग्रगामी र वैकल्पिक राजनीतिक शक्ति उभ्याउनका लागि देश र समयअनुकूल नयाँ विचार, नीति, कार्यक्रम, सक्षम नेतृत्व तथा व्यवस्थित संगठनसहितको पूर्ण प्याकेज अनिवार्य हुने बताएका छन्। उनले जतिसुकैले विचार वा सिद्धान्तको आवश्यकता छैन भनेर दाबी गरे पनि देशलाई दिगो रूपान्तरणकारी नेतृत्व दिनसक्ने दलको मूल केन्द्रमा सही विचार र सिद्धान्त सधैँ रहने स्पष्ट पारेका छन्।
अहिलेको वित्तीय भूमण्डलीकृत विश्व, आन्तरिक जडता र बाह्य परनिर्भरताको दुस्चक्रबाट बहुवर्गीय तथा बहुजातीय नेपाली समाज गुज्रिरहेको उल्लेख गर्दै डा. भट्टराईले दलहरू पुरानै वैचारिक जडताबाट माथि उठ्न नसक्नु नै अहिलेको सबैभन्दा ठूलो विडम्बना भएको बताएका छन्। समयानुकूल विचारको विकास गर्न नसक्दा मुलुकले सही निकास पाउन नसकेको उनको निष्कर्ष छ।



तपाईको प्रतिक्रिया दिनुहोस