सुदूरपश्चिम जाने तीव्र इच्छा छ - पूर्वप्रधानमन्त्री देउवा
नेपाली कांग्रेसका निवर्तमान सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आफू सम्पूर्ण रूपमा ‘पार्टी एकता हुनुपर्छ’ भन्ने पक्षमा रहेको बताएका छन्। शनिबार महाराजगञ्जस्थित आफ्नै निवासमा भेट्न पुगेका पत्रकारहरूसँगको संक्षिप्त कुराकानीमा उनले अदालतबाट न्याय प्राप्तिपछि पार्टीमा एकता कायम हुने स्पष्ट पारेका हुन्।
आफू सुरुदेखि नै विशेष महाधिवेशनको पक्षमा नरहेको दोहोर्याउँदै पूर्वसभापति देउवाले भने, “सम्पूर्ण रूपमा पार्टी एकता हुनुपर्छ। विशेष अधिवेशनको पक्षमा म थिइनँ, मैले मानेको पनि होइन। त्यसको खिलाफमा हामीले मुद्दा दिएका छौँ। त्यसको पुनरावलोकन नभएसम्म धेरै बोल्नु हुँदैन। मलाई विश्वास छ, त्यसमा न्याय मिल्छ, अनि पार्टी एकता हुन्छ।”
सो अवसरमा देउवाले आफ्नो गृहप्रदेश सुदूरपश्चिम जाने तीव्र इच्छा रहेको बताएका छन् । “सुदूरपश्चिममा जान मन छ, डडेलधुरा अझ जान मन छ। त्यहाँका दाजुभाइले मलाई सधैँ जिताएका छन्, भेट्ने मन छ। देवीदेवताको दर्शन गर्ने मन छ,” उनले भने।
सुदूरपश्चिम र विशेषगरी आफ्नो गृहजिल्ला डडेलधुराका लागि अझै धेरै काम गर्न बाँकी रहेको उनको भनाइ थियो। जनताले आफूलाई सधैँ धेरै कुरा दिए पनि त्यसको तुलनामा आफूले सोचेजति काम गर्न नसकेको उनले बताए। “सुदूरपश्चिमले मलाई धेरै दिएको छ, तर मैले त्यहाँ जति गर्नुपर्ने हो, त्यति गर्न पाएको छैन। डडेलधुरामा पनि मैले केही काम गर्न बाँकी छ। सबैले एयरपोर्ट बनाइदेउ–बनाइदेउ भनेका छन्, म त्यो काम पनि पूरा गर्छु,” देउवाले बनाउने प्रतिवद्धता व्यक्त गरेका छन् ।



तपाईको प्रतिक्रिया दिनुहोस