हिउँ–चट्टान किन खस्यो? यति धेरै पानी कसरी आयो?
प्रधानमन्त्री बालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीलाई हिमालय क्षेत्रमा जलवायु परिवर्तनका कारण बढदै गएको विपद जोखिमको गम्भीर संकेतका रूपमा व्याख्या गरेका छन्।
मंगलबार सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै प्रधानमन्त्री शाहले विज्ञहरूसँगको छलफलका आधारमा उक्त बाढी हिमालय क्षेत्रमा हिउँ–चट्टानको हिमपहिरोबाट सिर्जित ठूलो विपत्ति भएको उल्लेख गरेका छन्। पछिल्लो घटनाले हिमालय क्षेत्रमा जलवायु परिवर्तनसँगै भविष्यमा थप ठूला जोखिमहरू निम्तिन सक्ने चेतावनी दिएको उनको भनाइ छ।
प्रधानमन्त्री शाहले ‘हिउँ–चट्टान किन खस्यो?’ र ‘यति धेरै पानी कसरी आयो?’ भन्ने प्रश्नको वैज्ञानिक जवाफ खोज्नुपर्ने बताएका छन्। मानव सभ्यताले यस्ता विपद्का मूल कारण पहिचान गरी दीर्घकालीन समाधानतर्फ गम्भीरतापूर्वक अघि बढ्नुपर्ने उनले औंल्याएका छन्।
विज्ञहरूको भनाइ उद्धृत गर्दै उनले हिमनदीभित्र पग्लिएको पानीका कारण बरफ र पानी मिसिएर हिमनदीको ठूलो भाग खसेको हुन सक्ने बताएका छन्। हिमनदीको सिंगो भाग उच्च उचाइबाट अत्यधिक ऊर्जासहित खस्दा सुरुमै पग्लिन थालेको र निरन्तरको बहावका कारण त्यसले ठूलो बाढीको रूप लिएको अनुमान गरिएको छ। हिमालयको उच्च भूभागबाट नेपालतर्फको भूमि क्रमिक रूपमा ओरालो रहेका कारण बाढीले थप गति लिँदै तल्लो क्षेत्रमा अपूरणीय क्षति पुर्याएको शाहले उल्लेख गरेका छन्।
जलवायु परिवर्तनका कारण हिमालय क्षेत्रमा तापक्रम १.८ डिग्री सेल्सियससम्म वृद्धि भइसकेको उल्लेख गर्दै प्रधानमन्त्री शाहले यसपकारका विपद् जोखिम र जलवायु परिवर्तनबीचको अन्तरसम्बन्धबारे गहिरो अध्ययन हुनुपर्ने बताएका छन्।
जलवायु परिवर्तन विश्वव्यापी कार्बन उत्सर्जनको परिणाम भएकाले त्यसबाट उत्पन्न हुने विपद्को प्रतिकार्य पनि विश्वव्यापी जिम्मेवारी हुनुपर्ने उनको तर्क छ। नेपाललगायत समग्र हिमालय क्षेत्रले भोगिरहेका जलवायुजन्य संकटका विषयलाई अब अन्तर्राष्ट्रिय समुदायसमक्ष सशक्त रूपमा प्रस्तुत गर्नुपर्ने समय आएको उनले बताएका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस