कांग्रेसमा विवाद समाधानको कसरत तीव्र, सभापति थापा र नेता खड्काबीच सहमति नजिक
नेपाली कांग्रेसभित्र चुलिएको आन्तरिक विवाद समाधानका लागि सभापति गगन थापा र निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काबीच महत्त्वपूर्ण भेटवार्ता भएको छ। शनिबार साँझ भएको ‘वान टु वान’ भेटवार्तामा पार्टीभित्र देखिएका असन्तुष्टि र मागहरू सम्बोधन गर्ने विषयमा सहमति नजिक पुगेको स्रोतले जनाएको छ।
१५औँ महाधिवेशनका लागि नवीकरण तथा नयाँ लिइएका क्रियाशील सदस्यताको व्यवस्थापन र १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यहरूको व्यवस्थापनलगायतका विषयमा दुई नेताबीच सकारात्मक छलफल भएको छ। नेता खड्काले उठाउँदै आएका मागहरू पूरा गर्न सभापति थापा सहमत भएपछि पार्टीभित्र देखिएको शक्तिसंघर्ष साम्य हुने र सहमति जुट्ने सम्भावना प्रबल बनेको छ।
विवादलाई पूर्ण रूपमा अन्त्य गर्न सभापति थापा र नेता डा. शेखर कोइरालाबीच आज पुनः भेटवार्ता हुँदैछ। नेता कोइरालाले क्रियाशील सदस्यताको सहज व्यवस्थापन, १४औँ महाधिवेशनपछिका सदस्यताको मान्यता, समितिहरूको गठन आपसी सहमतिमा गर्ने तथा दुवै कार्यकालका केन्द्रीय समितिलाई समायोजन गर्नेलगायतका ५ बुँदे प्रस्ताव अगाडि सारेका छन्।
यसैबीच, कांग्रेस प्रवक्ता देवराज चालिसेले पार्टीभित्रको आन्तरिक विवाद अन्त्य गर्न सभापति थापाले विभिन्न चरणमा शीर्ष नेताहरूसँग भेटघाट गरिरहेको पुष्टि गरेका छन्। आज दिउँसो १ बजे बस्ने पार्टीको कार्यसम्पादन समिति बैठकमा नेताहरूसँग भएका भेटवार्ता र सहमतिबारे औपचारिक ब्रिफिङ हुनेछ।
शीर्ष तहमा सहमति जुटेमा आगामी भदौ २४ गतेका लागि तय गरिएको १५औँ महाधिवेशनअन्तर्गतको वडा अधिवेशनको मिति केही समय पर सर्ने बलियो संकेत प्रवक्ता चालिसेले दिएका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस