कांग्रेस कार्यसम्पादन समिति बैठक: १७ जनाले राखे धारणा, एजेन्डामाथि पूरा छलफल हुन सकेन
नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा आज १७ जना नेताले समसामयिक विषयमा आफ्नो धारणा राखेका छन् । पार्टी केन्द्रीय कार्यालय, बीपी स्मृति भवन, बीपी नगर (ललितपुर) मा सभापति गगनकुमार थापाको सभापतित्वमा बसेको बैठकमा विभिन्न महत्वपूर्ण एजेन्डामाथि छलफल भएको छ ।
निर्धारित एजेन्डामाथि पूरा छलफल हुन नसकेपछि बैठक सोमबार दिउँसो १ बजे पुनः बस्ने नेपाली कांग्रेसले जनाएको छ ।
आजको बैठकमा सभापति थापाले भदौ १० गते बिहान भोटेकोशी नदीमा आएको आकस्मिक तथा भीषण बाढीबाट प्रभावित क्षेत्रको स्थलगत अवलोकन, पीडितसँगको भेटघाट तथा अन्तरक्रियापछि प्राप्त वस्तुस्थितिबारे बैठकलाई विस्तृत जानकारी गराएका थिए ।
बैठकमा सहमहामन्त्रीद्वय फरमुल्लाह मन्सुर र बहादुरसिंह लामासहित केन्द्रीय सदस्यहरूले आ–आफ्नो धारणा राखेका छन् । धारणा राख्ने केन्द्रीय सदस्यहरूमा अर्जुननरसिंह केसी, महेन्द्र यादव, सुरेन्द्रप्रसाद चौधरी, रमेश रिजाल, अर्जुनप्रसाद जोशी, डा. चन्द्रकान्त भण्डारी, अजयकुमार चौरसिया, अब्दुल सत्तार, राजेन्द्रकुमार केसी, इन्जिनियर मोहन आचार्य, प्रा.डा. गोविन्दराज पोखरेल, भरतकुमार शाह र सुधीरकुमार शिवाकोटी रहेका छन् ।
त्यसैगरी, बैठकमा बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँ र कर्णाली प्रदेश सभापति ललितजंग शाहीले पनि आ–आफ्नो प्रदेशको वस्तुस्थिति र पार्टी गतिविधिसहितको धारणा राखेका थिए ।



तपाईको प्रतिक्रिया दिनुहोस