वसन्त चौधरीको ५० वर्षको साधना खरानी भएको त्यो भाद्र २४
प्रसिद्ध उद्योगी एवं साहित्यकार वसन्त चौधरीले गत वर्षको भाद्र २४मा भएको जेनजीका नाममा हिंसात्मक घटनाका क्रममा आफ्नो ५० वर्ष पुरानो पुर्ख्यौली घर र जीवनभरका अमूल्य साहित्यिक पाण्डुलिपिहरू गुमाउनुपरेको मर्मस्पर्शी पीडा सार्वजनिक गरेका छन्।
आन्दोलनका नाममा मच्चाइएको आगजनीको एक वर्ष पूरा भएको सन्दर्भमा सामाजिक सञ्जालमार्फत घरको साविकको रूप र हालको भग्नावशेषको तस्बिर सार्वजनिक गर्दै उनले भौतिक संरचना ध्वस्त भए पनि आफ्नो इतिहास र विरासत नडग्मगाउने दृढता व्यक्त गरेका छन्।
बुबाले करिब पाँच दशकअघि ठूलो मिहिनेतले निर्माण गरेको घर आँखाअगाडि नै खरानी भएको स्मरण गर्दै चौधरीले त्यो केवल इँटा र सिमेन्टको संरचना मात्र नभई पारिवारिक संस्कार, पहिचान र कैयौँ पुस्ताको इतिहास भएको उल्लेख गरेका छन्। “घरका कोठाहरू मात्र जलेनन्, पचास वर्षभन्दा लामो समयसम्म शब्द-शब्द जोडेर सँगालेको मेरो प्रिय पुस्तकालय पनि ध्वस्त भयो,” उनले दुखेसो पोख्दै भनेका छन्, “पाँच दशकको साधनामा प्राप्त सम्मान, विभूषणका चिनो र प्रकाशनको पर्खाइमा रहेका अमूल्य पाण्डुलिपिहरू मेरै अगाडि अक्षर-अक्षर भएर जले।” वर्षौँका अनुभूति र अधुरा सपनाहरू धुवाँ बनेर उड्दा असहाय बनेर टुलुटुलु हेर्नुको विकल्प नरहेको पीडा साटेका उनले सोही भग्नावशेषमा उभिएर हरेक वर्ष सोही दिन उक्त भूमिमा आएर जलिसकेका स्मृतिहरूलाई 'शब्दको तर्पण' दिने दृढ प्रण गरेका छन्।
हिंसा र विध्वंसको आगोले भौतिक संरचनाहरू मात्र ढाल्न सक्ने तर मनभित्र कुँदिएका स्मृति र विरासतलाई कहिल्यै खरानी बनाउन नसक्ने चौधरीको अडिग विश्वास छ।



तपाईको प्रतिक्रिया दिनुहोस