Techie IT
२०८३ भाद्र ३१, बुधबार

बाटोमा बच्चा जन्माउँदै हिँड्नलाई जनावर हैनौँ, हामी महिला हौँ - सांसद चन्द


नेपाल कम्युनिस्ट पार्टी (नेकपा) की राष्ट्रिय सभा सांसद रेणु चन्दले मुलुकमा महिला हिंसाका घटना बढेकोप्रति गम्भीर आक्रोश व्यक्त गरेकी छन् । राष्ट्रिय सभाको बुधबारको बैठकमा आक्रामक रूपमा प्रस्तुत हुँदै उनले महिलालाई सडकमा बच्चा जन्माउन बाध्य पारिएको घटनाप्रति सरकारको चर्को आलोचना गरेकी थिइन् ।

सांसद चन्दले राज्यलाई जनसङ्ख्या मात्र चाहिएको तर आमाहरूको जीवन र सुरक्षामा गम्भीर खेलबाड भइरहेको आरोप लगाइन् । “हामी महिला हौँ, जनावर हैनौँ, बाटोमा बच्चा जन्माउँदै हिँड्नलाई।” उनले भनिन्, “ज्यान जोखिममा पारेर बच्चा जन्माउने काम हामीले गरिरहेका छौँ, तर राज्यले देशको आधा जनसङ्ख्या भएको महिलालाई हेपेको छ, यो असह्य छ।”

सदनमा बोल्दै उनले गरिमा चौधरीको बलात्कार र हत्या प्रकरणमा गृह मन्त्रालयमा मन्त्रीहरूको घेराबन्दीमा पारेर पीडित परिवारलाई दबाब दिएर सम्झौता गराइएको दाबी गरेकी छन् । बलात्कारी उम्किएको र महिलाले सडकमा बच्चा जन्माउनुपर्ने अवस्था आएको भन्दै उनले सरकारलाई “तपाईँ खुसी हुनुहुन्छ?” भनी कडा प्रश्नसमेत गरेकी थिइन् ।

सरकारमा महिला मन्त्रीहरूको राम्रै उपस्थिति र ठूलो दलको सहभागिता भए पनि जनताका अपेक्षामाथि पानी फेर्ने काम भएको उनको भनाइ छ। न्याय माग्न जाँदा सरकारबाट समेत गाली खानुपरेको र अनलाइनमा समेत चरम घृणा तथा हिंसा सहनुपरेको गुनासो गर्दै सांसद चन्दले यी सम्पूर्ण हिंसा रोक्न सरकारले हालसम्म के-के काम गरिरहेको छ भन्नेबारे गृह मन्त्रालयले तत्काल सदनमा आएर जवाफ दिनुपर्ने माग गरेकी छन् ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट