यस्ता छन् मन्त्रिपरिषका ५ निर्णयहरु
सरकारले सोमबार सम्पन्न मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सार्वजनिक गरेको छ। सरकारका प्रवक्ता एवं मन्त्री सस्मित पोखरेलले मन्त्रालयमा पत्रकार सम्मेलनमार्फत बैठकका मुख्य निर्णयहरू सार्वजनिक गर्नुभएको हो। उहाँका अनुसार आजको बैठकले विभिन्न महत्वपूर्ण ५ वटा प्रस्तावहरू पारित गरेको छ।
मन्त्रिपरिषद् बैठकका प्रमुख ५ निर्णयहरू:
१. नर्वेली अनुदान स्वीकृत: नगरपालिकाहरूमा स्वच्छ ऊर्जा रूपान्तरण प्रवर्द्धन कार्यक्रमका लागि नर्वेजियन सरकारबाट प्राप्त हुने करिब १० करोड नेपाली रुपियाँ बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय गरिएको छ।
२. इन्जिनियरिङ सेवा नियमावली संशोधन: ‘नेपाल इन्जिनियरिङ सेवा (गठन, समूह तथा श्रेणी विभाजन र नियुक्ति) (दोस्रो संशोधन) नियमहरू, २०८३’ स्वीकृत गरिएको छ।
३. वैकल्पिक विकास वित्त परिचालन: ‘वैकल्पिक विकास वित्त परिचालन नियमावली, २०८३’ लाई मन्त्रिपरिषद्ले स्वीकृति प्रदान गरेको छ।
४. जेन-जी आन्दोलनको प्रतिवेदन गृहमा: जेन-जी आन्दोलनसँग सम्बन्धित घटनामा फौजदारी अभियोजन भएका मुद्दाहरू फिर्ता गर्न सकिने वा नसकिने सम्बन्धमा छानबिन गरी सिफारिस गर्न पूर्व न्यायाधीश बाबुराम रेग्मीको अध्यक्षतामा गठित समितिले पेस गरेको प्रतिवेदन आवश्यक कार्यान्वयनका लागि गृह मन्त्रालयमा पठाइएको छ।
५. सचिव पदमा बढुवा र पदस्थापन: सहसचिव (प्रा.) पद्म कुमार मैनालीलाई नेपाल इन्जिनियरिङ सेवा समूहीकरणतर्फको सचिव पदमा बढुवा गरी पूर्वाधार विकास मन्त्रालयमा पदस्थापन गरिएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस