Techie IT
२०८३ कार्तिक २९, शनिबार

एनएमबि बैंकले बोलायो ३१ औँ वार्षिक साधारण सभा, बुकक्लोज कहिले छ ?


एनएमबि बैंक लिमिटेडले आगामी मंसिर २५ गते शुक्रवार ३१ औँ वार्षिक साधारण सभा बोलाएको छ । बैंकको सञ्चालक समितिको निर्णयअनुसार सभामा गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरूलाई वितरण गर्ने प्रस्तावित लाभांश पारित गर्ने मुख्य एजेन्डा रहेको छ ।

सभाले हाल कायम चुक्ता पुँजीको ७ प्रतिशत (कर प्रयोजनार्थसहित) का दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । यसका साथै, ‘एनएमबि अविमोच्य असञ्चिति अग्राधिकार सेयर’ का लागि ८.२५ प्रतिशतका दरले नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्तावसमेत सभामा पेस गरिने बैंकले जनाएको छ ।

साधारण सभामा सञ्चालक समितिको वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदनसहितको वासलात तथा नाफा–नोक्सान हिसाब स्वीकृत गर्ने र आगामी आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका प्रस्तावहरू पनि समेटिएका छन् ।

कहिलेसम्म सेयर किन्नेले पाउँछन् लाभांश ?
साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले आगामी मंसिर ११ गते एक दिनका लागि बुकक्लोज (सेयरधनी दर्ता किताब बन्द) गर्ने निर्णय गरेको छ । जसअनुसार मंसिर १० गतेसम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा कारोबार भई कायम रहने सेयरधनीहरूले मात्र साधारण सभामा भाग लिन र प्रस्तावित नगद लाभांश प्राप्त गर्न सक्नेछन् ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट