Techie IT
२०८३ श्रावण ११, सोमबार

खेलकुद र संस्कृति समाज रूपान्तरणका शक्तिशाली साधन हुन् : प्रचण्ड

जनयुद्धकालमा जनमुक्ति सेना र पूर्णकालीन कार्यकर्ताहरूले मानसिक तन्दुरुस्तीका लागि चेस खेललाई समय व्यतित गर्ने माध्यम बनाएको स्मरण गरे।


पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले खेल र सांस्कृतिक क्षेत्रले राष्ट्रिय एकतालाई प्रवर्द्धन गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गरेको बताएका छन्।

काठमाडौंमा अखिल नेपाल चेस एशोसियसनले आयोजना गरेको ‘एफएम सुजेन्द्रप्रसाद श्रेष्ठ प्रथम स्मृति भेट्रान राष्ट्रिय चेस प्रतियोगिता’को उद्घाटन गर्दै अध्यक्ष दाहालले खेलकुद र संस्कृतिको महत्त्वमा विशेष जोड दिए।

उनले राजनीति र विकास निर्माणपछि खेल र संस्कृतिलाई आफूले सधैं उच्च प्राथमिकतामा राख्दै आएको उल्लेख गरे। प्रचण्डले भने, “मैले गणतन्त्र नेपालको पहिलो प्रधानमन्त्री बनेदेखि नै खेलकुद र संस्कृतिलाई विशेष महत्त्व दिँदै आएको छु। यी क्षेत्रहरू राष्ट्रियता प्रवर्द्धन, विकास र समृद्धिको आधार हुन्, जसले समाजमा अनुशासन र मर्यादा कायम गर्दै रुपान्तरणमा योगदान पुर्याउँछन्।”

खेलकुदलाई राष्ट्रियता, समाजको मर्यादा, र अनुशासनको प्रमुख माध्यमका रूपमा प्रचण्डले प्रशंसा गरे। उनले आफूले गणतन्त्र नेपालको पहिलो प्रधानमन्त्री बनेपछि खेलकुद र संस्कृतिका लागि अक्षयकोष स्थापना गरेर सरकारको तर्फबाट सहयोग गरेको स्मरण गराए।

चेस खेलको महत्त्वबारे बोल्दै प्रचण्डले यसको माध्यमबाट समय व्यवस्थापन र मानसिक तन्दुरुस्तीमा सुधार हुने बताए। उनले जनयुद्धकालमा जनमुक्ति सेना र पूर्णकालीन कार्यकर्ताहरूले मानसिक तन्दुरुस्तीका लागि चेस खेललाई समय व्यतित गर्ने माध्यम बनाएको स्मरण गरे। अहिले पनि चेसको विकासमा पूर्वजनमुक्ति सेनाले नेतृत्वदायी भूमिका निर्वाह गरिरहेको देख्दा खुसी लागेको उनले बताए।

प्रचण्डले खेल र संस्कृति राष्ट्रिय एकताको आधारका रूपमा समाजमा अनुशासन र मर्यादा स्थापित गर्ने महत्त्वपूर्ण क्षेत्र भएको पुनः जोड दिए। साथै, चेसजस्ता खेलहरूले मानसिक स्वास्थ्य र रणनीतिक सोचमा सुधार ल्याउन सक्ने भएकाले यसको विकास र प्रवर्द्धन आवश्यक रहेको उनको भनाइ थियो।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट