भारत–पाकिस्तानबीच सैन्य तनाव चुलिँदै जाँदा नेपालमा उच्च सुरक्षा सतर्कता

भारत र पाकिस्तानबीचको सैन्य तनाव चुलिँदै जाँदा नेपालले पनि राष्ट्रिय सुरक्षा रणनीति निर्माण गर्दै उच्च सतर्कता अपनाउने निर्णय गरेको छ । आज दिउँसो गृह मन्त्रालयमा बसेको राष्ट्रिय सुरक्षा समितिको बैठकले सीमा निगरानी कडा पार्न र सम्भावित असरको मूल्याङ्कन गर्दै सुरक्षा संयन्त्र सक्रिय बनाउन निर्देश दिएको छ ।
बैठकले भारत–पाकिस्तान तनावले नेपालमा पार्न सक्ने प्रत्यक्ष वा अप्रत्यक्ष असरको गहिरो विश्लेषण गर्दै तीनै तहका सुरक्षा निकायहरू—नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाल सेनालाई सीमा क्षेत्रमा निगरानी कडा पार्न निर्देशन दिने निर्णय गरेको हो ।
बैठक स्रोतका अनुसार, सीमावर्ती क्षेत्रमा थप सुरक्षाको प्रबन्ध गर्न आवश्यक सर्कुलरहरू सम्बन्धित निकायहरूलाई पठाइसकिएको छ ।
“सीमा क्षेत्रमा विशेष सतर्कता अपनाउन भनिएको छ,” स्रोतले भन्यो, “घुसपैठ रोकथामदेखि सूचना संकलनसम्मका गतिविधिमा सक्रियता देखाउने निर्णय भएको हो ।” बैठकमा गृहमन्त्री रमेश लेखक, नेपाल सेनाका प्रतिनिधि, प्रहरी महानिरीक्षक दीपक थापा, सशस्त्र प्रहरी प्रमुख राजु अर्याल, राष्ट्रिय अनुसन्धान विभाग (NID) का प्रमुख हुतराज थापा, गृह मन्त्रालयको सुरक्षा महाशाखाका पदाधिकारीहरू सहभागी थिए ।
उक्त बैठकले शहरी सुरक्षा, आन्तरिक सूचना व्यवस्थापन, सीमा–सहकार्य तथा सार्वजनिक शान्ति–सुरक्षामा कुनै पनि चुनौती नआओस् भन्ने हेतुले सामूहिक रणनीति तय गरेको हो ।
भारतको हवाई आक्रमण र क्षेत्रीय असर
जम्मु–कश्मीरको पहलगाममा पर्यटकमाथि भएको आक्रमणपछि भारतले पाकिस्तान र पाकिस्तान प्रशासित कश्मीरमा ‘अपरेशन सिन्दूर’ नाम दिएर हवाई हमला गरेको थियो । यसले क्षेत्रीय अस्थिरता बढाउने संकेत देखिएको छ । सुरक्षा अधिकारीहरूका अनुसार नेपालमा अहिले कुनै प्रत्यक्ष खतरा नभए पनि पूर्वतयारी र सतर्कता अपनाउनु आवश्यक देखिएको छ ।
तपाईको प्रतिक्रिया दिनुहोस