सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्नुपर्छ - अध्यक्ष यादव

मोरङ । जनता समाजवादी पार्टी, नेपालका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले जनताले ठूलो त्यागबाट ल्याएको सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्नुपर्नेमा जोड दिएका छन् ।
पार्टीको प्रथम जिल्ला अधिवेशनको आज विराटनगरमा उद्घाटन गर्दै उनले ठूलो सङ्घर्षबाट प्राप्त सङ्घीय लोकतान्त्रिक गणतन्त्र, समावेशी, नागरिकको मौलिक हकलाई संस्थागत गर्नु आजको आवश्यक्ता भएको प्रष्ट पारेका हुन् ।
पूर्वउपप्रधानमन्त्री समेत रहेका यादवले मुलुकमा भ्रष्टाचार, कमिशनतन्त्र, विचौलियाको चलखेल नियन्त्रण गरी सुशासन कायम गर्नेतर्फ सरकारको ध्यानाकर्षण गराएका छन् । उनले पार्टीले संविधान संशोधन गर्ने स्पष्ट धारणाअनुसार मुलुकमा राजनीतिक स्थिरता कायम गर्न पूर्णसमानुपातिक निर्वाचन प्रणाली लागु गर्न सुझाव दिएका थिए ।
पार्टीका सहअध्यक्ष रकम चेम्जोङले बितेर गएको राजतन्त्र पुनःफर्केर नआउने बताए । पार्टीका महासचिव रेखा यादव, केन्द्रीय सदस्य एवं पूर्वमन्त्री जयराम यादवले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको विकल्प नरहेको उल्लेख गरेका थिए ।
तपाईको प्रतिक्रिया दिनुहोस