खगराजलाई नेतृत्व सुम्पिएपछि धामीको स्ट्याटस : अबको भूमिका अझ जिम्मेवार
_3.png)
नेकपा (माओवादी केन्द्र) सुदूरपश्चिम प्रदेशका सांसद मानबहादुर धामी 'सन्तोष'ले पार्टीमा आगामी दिनको भूमिका अझ जिम्मेवार हुने बताएका छन् । आज विहान सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस पोस्ट गर्दै उनले सुदूरपश्चिम प्रदेश संसदीय दलको नेतृत्व खगराज भट्टलाई हस्तान्तरण गरिएको जानकारी दिएका हुन् ।
धामीले भनेका छन्, "झन्डै १६ महिनाको अन्तरालपछि पार्टीभित्र देखिएको सामान्य अन्तरविरोध तथा लोकतान्त्रिक प्रक्रिया पार्टी अध्यक्ष प्रचण्डको निर्देशनअनुसार जेठ १ गते बसेको बैठकले निर्णय गरेको हो । सो निर्णयअनुसार जेठ ५ गते प्रदेशसभाका सभामुखलाई औपचारिक पत्रमार्फत खगराज भट्टलाई संसदीय दलको नेता चयन गरिएको जानकारी गराइएको छ।"
धामीले पार्टीको आन्तरिक लोकतन्त्र बलियो बनाउन नेतृत्वले देखाएको भूमिकाप्रति आभार व्यक्त गर्दै आफू दुईपटक आन्तरिक प्रतिस्पर्धाबाट पार्टीको निर्देशन पालना गर्न सफल भएको उल्लेख गरेका छन् । उनले लेखेका छन्, "संसदीय दलको नेता हुँदा बहन गरेको जिम्मेवारीभन्दा आगामी भूमिकामा झन गहन ढंगले कार्य गर्ने प्रतिवद्धता व्यक्त गर्दछु ।"
खगराज भट्ट माओवादी केन्द्रका केन्द्रीय स्थायी कमिटी सदस्य तथा सुदूरपश्चिम प्रदेशका प्रभावशाली नेता हुन्। अब उनले संसदीय दलको नेतृत्व सम्हाल्ने छन् ।
तपाईको प्रतिक्रिया दिनुहोस