Techie IT
२०८२ जेष्ठ ८, बिहीबार

कम्युनिस्ट नाम नै स्वीकार गर्न नसक्ने बाबुरामसँग एकता हुँदैन - प्रचण्ड

प्रचण्डले विगतमा एमालेसँग गरिएको एकताको असफलता स्मरण गर्दै विचार, दृष्टिकोण र प्रवृत्ति मिल्दा मात्र दिगो एकता सम्भव हुने बताए।


नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो पार्टी वरिपरि क्रान्तिकारी शक्तिहरू तीव्र रूपमा एकताबद्ध भइरहेको बताएका छन् । पार्टी एकताको विषयमा स्पष्ट धारणा व्यक्त गर्दै उनले "हिजो छुट्टाछुट्टै रहेका नेताहरू र कार्यकर्ताहरू आज फेरि एउटै ढिक्का भई क्रान्तिको यात्रामा अघि बढिरहेका छन्," भन्ने दाबी गरेका छन् ।

प्रचण्डले भने, “महासचिव देव गुरुङ, उपाध्यक्ष पम्पा भुसाल, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठजस्ता नेताहरू एकता प्रक्रियामार्फतै पार्टीमा फर्किएका हुन् । विप्लव समूहका अधिकांश शिक्षकहरू पनि पार्टीमा समाहित भइसकेका छन्, बाँकी साथीहरू पनि दैनिक रूपमा आइरहेका छन्।”

उनले पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीसँग पनि आधाभन्दा बढी कार्यकर्ता माओवादी केन्द्रमा फर्किसकेको जानकारी दिँदै भने, “अब यही जेठ १२ गते तिनीहरूसँग औपचारिक एकता हुँदैछ।” साथै, काठमाडौँको नेवार समुदायमा सक्रिय नेपाल राष्ट्रिय पार्टीसँग पनि विचार र एजेन्डा मिलेकाले एकता प्रक्रिया अघि बढिरहेको उनले उल्लेख गरे ।

प्रचण्डले विगतमा एमालेसँग गरिएको एकताको असफलता स्मरण गर्दै विचार, दृष्टिकोण र प्रवृत्ति मिल्दा मात्र दिगो एकता सम्भव हुने बताए। “बाबुरामसँग पनि एकताको प्रयास गर्‍यौं। तर उहाँले कम्युनिस्ट पार्टीको नाम नै स्वीकार गर्न नसक्ने अडान लिनुभयो। विचारै नमिल्ने भएपछि के गरेर एकता गर्ने?” भन्दै उनले बाबुरामको गम्भीर आलोचना गरेका छन् ।

“हामी सबैसँग मिल्ने भन्ने कुरा निरपेक्ष हुँदैन। विचार, नीति, दिशाको आधारमा सापेक्ष हुन्छ” प्रचण्डको भनाइ छ।

उनले माओवादी आन्दोलन फेरि बलियो हुँदै गएको दाबी गर्दै विगतका उपचुनावहरूमा पार्टीले देखाएको नतिजालाई उदाहरणका रूपमा हेर्नुपर्ने बताए । “पूर्वी रुकुम र गोर्खाजस्ता ठाउँमा सबैजना मिलेर माओवादीलाई हराउने योजना बनाए पनि अन्ततः माओवादीले जित्यो । जनताले अझै पनि माओवादीप्रतिको विश्वास गुमाएका छैनन्,” उनले भने ।

उनले देशका विभिन्न ठाउँबाट, विभिन्न दल परित्याग गरेर हजारौं कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरिरहेको उल्लेख गर्दै भने, “यो सबै एकताको अभियानकै हिस्सा हो । माओवादी केन्द्र फेरि क्रान्तिको केन्द्र बन्दै गएको छ ।”

प्रचण्डले पार्टीभित्रै भ्रम फैलाउने र भाँडभैलो ल्याउने षड्यन्त्र भइरहेको भन्दै सबैलाई सतर्क रहन आग्रह गरेका छन् । “जब माओवादी बलियो हुँदै जान्छ, तब प्रतिक्रियावादी र दलाल तत्त्वहरूले हाम्रोभित्रै भाँडभैलो ल्याउने प्रयास गर्छन्,” भन्दै उनले पार्टीमा फूट ल्याउने योजनाहरू विरुद्ध सतर्क रहनुपर्ने बताएका छन् ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट