२०८४ को निर्वाचनमा सुदूरपश्चिममा एमाले शून्य सिटमा झर्छ - इन्चार्ज लेखराज भट्ट

नेकपा (एमाले) का सचिव तथा सुदूरपश्चिम प्रदेश इन्चार्ज लेखराज भट्टले पार्टीभित्रको आन्तरिक एकता नहुँदा आगामी प्रतिनिधिसभा निर्वाचनमा ठूलो क्षति हुन सक्ने चेतावनी दिएका छन् ।
नेपाल खेलकुद महासंघ सुदूरपश्चिम प्रदेशको दोस्रो अधिवेशनलाई आज सम्बोधन गर्दै सचिव भट्टले हाल पार्टीले सुदूरपश्चिममा पाएको दुई सिट समेत गुमाउने अवस्था आउन सक्ने उल्लेख गर्दै भने, "यदि आन्तरिक एकता कायम भएन भने हामी शून्य सिटमा सीमित हुन सक्छौं ।"
उनले पार्टी अहिले पनि बलियो बन्दै गइरहेको अवस्थामा चारैतिरबाट आन्तरिक र बाह्य घेराबन्दी भइरहेको उल्लेख गर्दै जनवर्गीय संगठनहरूलाई संकटको बेला अग्रपङ्क्तिमा उभिन आह्वान गरेका छन् । "पार्टी संकटमा पर्दा हामी सबै अग्रपंक्तिमा उभिनुपर्छ," भट्टले भने, "अध्यक्ष तथा प्रधानमन्त्रीमाथि समेत आन्तरिक र बाह्य रूपमा दबाब सिर्जना गरिएको छ, त्यसको प्रतिकार गर्न हामी एकजुट हुनुपर्छ ।"
भट्टले पार्टी अध्यक्ष केपी शर्मा ओलीको आत्मबल र सक्रियता सबैका लागि प्रेरणादायी भएको भन्दै दिनको २० घण्टा काम गर्ने नेतृत्वबाट खेलाडीहरूले समेत प्रेरणा लिनुपर्ने धारणा राखेका थिए । "समृद्ध नेपाल, सुखी नेपाली" अभियानलाई आत्मनिर्भर भएर अघि बढाउनुपर्नेमा जोड दिँदै पार्टीभित्र अनुशासन र एकताको भावना आत्मसात् गर्न उनले आग्रह गरेका थिए ।
कार्यक्रममा एमाले पोलिटब्यूरो सदस्य तथा सुदूरपश्चिमका पूर्व मुख्यमन्त्री राजेन्द्रसिंह रावलले सुदूरपश्चिममा खेलकुद र खेलाडीहरूको अपार सम्भावना रहेको बताएका थिए । उनले विशेषगरी क्रिकेट खेलको विकासका लागि स्तरीय मैदान आवश्यक रहेको धारणा राखेका थिए ।
त्यस्तै, नेपाल खेलकुद महासङ्घका केन्द्रीय उपाध्यक्ष दीपेन्द्र दाहालले संकटको बेला महासङ्घले पार्टीलाई मजबुत बनाउन सक्रिय भूमिका खेल्ने प्रतिबद्धता जनाउँदै आगामी निर्वाचनमा एमालेलाई सशक्त बनाउने दिशामा योगदान दिने बताए ।
तपाईको प्रतिक्रिया दिनुहोस