Techie IT
२०८२ असार १, आइतबार

अनेरास्ववियुले गर्यो सार्वजनिक शिक्षामा सुधारको घोषणा


अनेरास्ववियुले सामुदायिक विद्यालय तथा विश्वविद्यालयलाई सुधार गर्दै लैजाने निर्णय गरेको छ ।

ललितपुर, च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा आज बसेको अनेरास्ववियुको पहिलो बैठकले सामुदायिक विद्यालय तथा विश्वविद्यालयलाई सुधार गर्दै सर्वसुलभ र गुणस्तरीय शिक्षाको पहुँच विस्तार गर्ने निर्णय गरेको अध्यक्ष डा सुजन कडरियाले जानकारी दिएका छन् ।

शिक्षामा रहेको वर्गीय र संस्थागत विभेदको अन्त्य गर्दै, शिक्षाजस्तो आधारभूत हकलाई निजीकरणको दुश्चक्रबाट मुक्त गरी सार्वजनिक शिक्षाको सुदृढीकरणमा केन्द्रित हुने नीतिगत अभियानमा अडिग रहने प्रतिबद्धता जनाइएको उनले बताए ।

बैठकले चार सचिवको कार्यविभाजनसमेत गरेको छ । अध्यक्ष डा कडरियाका अनुसार आर्थिक सचिवमा आकाश घर्तिमगर, सङ्गठन सचिवमा गोपाल नेपाल, प्रचार सचिवमा समिमबाबु खान र विदेश सचिवमा रचना सापकोटालाई जिम्मेवारी दिइएको छ ।

कडरियाले ३२ वर्षमुनिका युवाहरू मात्र नेतृत्वमा रहने निर्णयले ‘कक्षाकोठासँग जोडिएको वास्तविक विद्यार्थी नेतृत्व’ पाएको धारणा राखेका थिए । अनेरास्ववियुमा उमेर हद लागू भएपछि ‘जेन जी’ पुस्तासँग सङ्गठनलाई जोड्ने कामले औपचारिक मान्यता पाएको उनले बताए ।

बैठकले नेपालको जनसङ्ख्यामा युवाको अनुपात उच्च रहेकाले यसलाई राष्ट्रनिर्माणमा क्रियाशील बनाउने र स्वदेशमा रोजगारीका अवसर सिर्जना गरी ‘ब्रेन ड्रेन’ न्यूनीकरण गर्न सरकार र सम्बन्धित निकायको ध्यानाकर्षण गराउने निर्णय गरेको छ ।

बिहीबार राति सम्पन्न निर्वाचनबाट डा कडरियाको नेतृत्वमा एक सय ५१ सदस्यीय नयाँ कमिटी निर्वाचित भएको थियो ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट