Techie IT
२०८२ असार १२, बिहीबार

उमेर हदको विषय विधान महाधिवेशनले टुंग्याउँछ : उपमहासचिव प्रदीप ज्ञवाली


नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले पार्टीमा नेताहरूका लागि तोकिएको उमेर हदको विषय अन्ततः विधान महाधिवेशनले टुंग्याउने स्पष्ट पारेका छन् ।

पार्टी सचिवालय बैठकको निर्णय सार्वजनिक गर्दै उपमहासचिव ज्ञवालीले पार्टीको सर्वोच्च निर्णयकर्ता निकाय विधान महाधिवेशन भएकाले उमेर हद सम्बन्धी अन्तिम निर्णय त्यहीँ हुने बताएका हुन् । 

उनले भने, “हाम्रो पार्टीको फैसला गर्ने सर्वोच्च निकाय विधान महाधिवेशन भएकाले यसबारे आवश्यक निर्णय विधान महाधिवेशन गर्नेछ। यो विषयलाई लिएर धेरै अनुमान गर्नु, सिद्धान्तको विषय बनाउनु जरुरी छैन ।”

ज्ञवालीले मार्क्सवादमा उमेर हदको कुनै निश्चित सैद्धान्तिक निर्देशन नरहेको समेत स्पष्ट पारे । “मार्क्सवादले उमेर हद राख्नुपर्छ पनि भनेको छैन, राख्न हुन्न पनि भनेको छैन। उमेर हद राख्नुपर्ने पक्षमा हुनेहरू क्रान्तिकारी र नराख्नुपर्नेहरू अक्रान्तिकारी भन्ने कुरा पनि होइन,” उनले टिप्पणी गरे ।

उनका अनुसार विगतमा ७० वर्षे उमेर हदको व्यवस्था गरिएको भए पनि व्यवहारमा त्यसले कतिपय अवस्थामा बाधा पुर्‍याएको महसुस भएपछि सचिवालय र केन्द्रीय कमिटीले निर्णय स्थगन गरेका थिए । “हिजो एउटा आवश्यकताले हामीले उमेर हद राख्यौं, तर त्यसले कतै बाधक हुन सक्ने स्थिति देखिएपछि सचिवालयले निर्णय गर्‍यो, र केन्द्रीय कमिटीले अनुमोदन गर्‍यो,” ज्ञवालीले स्पष्ट पारे।

एमालेमा उमेर हदको विषय फेरि चर्चामा आएको बेला उपमहासचिव ज्ञवालीको यो अभिव्यक्तिलाई महत्त्वपूर्ण रूपमा हेरिएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट