पूर्वराष्ट्रपति भण्डारीसँग नारायणकाजीको वाम एकताको प्रस्ताव

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले सक्रिय राजनीतिमा पुनः प्रवेशको घोषणा गरेपछि नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले भण्डारीलाई भेट गरी वामपन्थी एकताको प्रस्ताव अघि सारेका छन्।
केही दिन अघि भण्डारीको भंगालस्थित निवासमा पुगेका श्रेष्ठले करिब एक घण्टा समसामयिक राजनीतिक विषयमा छलफल गरेका थिए । पूर्वराष्ट्रपतिनिकट स्रोतका अनुसार श्रेष्ठले वाम शक्तिहरूबीच एकता सम्भव रहेको भन्दै भण्डारीलाई त्यसतर्फ पहल गर्न आग्रह गरेका थिए । तर भण्डारीले तत्काल यसबारे कुनै प्रतिबद्धता जनाइनन् । स्रोतका अनुसार उनले भनेकी थिइन्, "मैले यो विषयमा अझै सोचिसकेको छैन, अहिलेको आवश्यकता ध्रुवीकरण होइन, सबै मिलेर देश समृद्ध बनाउने तर्फ लाग्नुपर्छ ।"
माओवादी केन्द्र लगायत केही वामपन्थी नेताहरूले सार्वजनिक रूपमा भण्डारीको नेतृत्वमा वाम एकताको सम्भावना व्यक्त गरिरहेका छन् ।
असार १४ गते भण्डारीले एमालेको साधारण सदस्यता नवीकरण गरेको घोषणा गरेसँगै एमालेभित्र चहलपहल बढेको छ । तर अन्य वाम दलहरूले यसमा कुनै स्पष्ट प्रतिक्रिया जनाएका छैनन् ।
त्यसैबीच, माओवादी केन्द्रमा पनि पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन सक्रिय भइसकेका छन् । उनी हाल माओवादी केन्द्रका बैठकहरूमा नियमित सहभागी भइरहेका छन् ।
भण्डारी भने पार्टीको विधान महाधिवेशनदेखि सक्रिय हुने तयारीमा रहेको बताइएको छ । माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष श्रेष्ठले पूर्वराष्ट्रपति निवासमै पुगेर वाम एकताको प्रस्ताव राख्नुले माओवादी पक्षले एमालेभित्र ध्रुवीकरण बढाउने खेल खेलेको आशंका जन्मिएको स्रोतको दाबी छ । "अहिले भण्डारीको प्राथमिकता एमालेलाई बलियो बनाउनु हो, वाम एकता होइन," एमाले निकट एक पदाधिकारीले बताए ।
भण्डारी पक्षका नेताहरू भने नारायणकाजी श्रेष्ठसँगको भेटबारे खुलेर बोल्न चाहिरहेका छैनन् । भण्डारीकी स्वकीय सचिव राजकुमार राईले श्रेष्ठले भेटेकोबारे आफूलाई जानकारी नभएको प्रतिक्रिया दिएका छन् ।
राजनीतिमा पुनः सक्रिय हुने घोषणा गरेपछि पूर्वराष्ट्रपति भण्डारीसँग भेटघाटका क्रम तीव्र बनेका छन् । एमाले, माओवादी केन्द्र लगायतका नेताहरूले भण्डारीसँग भेट गरिरहेका छन् भने भण्डारी पनि भेटघाटका लागि सहज वातावरण बनाउँदै लागेकी छन् ।
यही क्रममा बिहीबार काठमाडौं महानगरका मेयर बालेन्द्र (बालेन) साहले पनि भण्डारीलाई भेटेका छन् । एमाले सांसद कृष्णगोपाल श्रेष्ठको साथमा पुगेका बालेनले करिब एक घण्टा भण्डारीसँग बिताएका थिए । स्रोतका अनुसार, भेटघाटमा काठमाडौं महानगरमा उत्पन्न समस्याबारे बालेनले जानकारी गराएका थिए ।
त्यही दिन भण्डारी निवासमा कोसी प्रदेशका पूर्वमुख्यमन्त्री शेरधन राई पनि पुगेका थिए। भण्डारी पारिवारिक भेटमा व्यस्त रहेका बेला सांसद श्रेष्ठले समय मिलाएर बालेनसँग भेट गराएको बताइएको छ ।
पूर्वराष्ट्रपति भण्डारीले केही दिनअघि सरकारले उपलब्ध गराएको सेवासुविधा फिर्ता गरेकी थिइन् । यस निर्णयको स्वागत गर्दै मेयर साहले उनलाई बधाई दिएको स्रोतले जनाएको छ । भेटमा उनीहरूबीच काठमाडौं महानगरको बजेट समस्या र त्यसको समाधानबारे पनि छलफल भएको बताइएको छ ।
तपाईको प्रतिक्रिया दिनुहोस