प्रचण्डद्वारा रसुवामा बाढीले पुर्याएको क्षतिप्रति दुःख, उद्धार र राहतमा सक्रिय हुन आह्वान

नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रसुवामा आएको भीषण बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका छन् । साथै, उनले पार्टीका सबै तहका नेता तथा कार्यकर्ताहरूलाई उद्धार र राहत कार्यमा सक्रियतापूर्वक सहभागी हुन निर्देशन दिएका छन् ।
प्रचण्डले आज बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत् आफ्नो भनाइ सार्वजनिक गर्दै नेपाल–चीन जोड्ने मितेरी पुललगायत महत्वपूर्ण संरचनामा पुगेको क्षति गम्भीर भएको बताएका छन् । “भोटेकोशी नदीमा आएको भीषण बाढीले विभिन्न संरचनाहरूमा गम्भीर क्षति पुर्याएको छ । बाढीले भएको क्षतिप्रति म गहिरो दुःख व्यक्त गर्दछु,” उनले लेखेका छन् ।
साथै उनले नेपाल सरकारसँग उद्धार, राहत तथा बेपत्ताहरूको खोजीका लागि सबै संयन्त्रलाई तत्काल र प्रभावकारी रूपमा परिचालन गर्न जोडदार माग गरेका छन् ।
मौसमविद्हरूले यस वर्ष औसतभन्दा बढी वर्षा हुने चेतावनी दिइरहेको सन्दर्भमा, प्रचण्डले सरकारले उच्च सतर्कता अपनाउनुपर्ने र विपद् जोखिम न्यूनीकरणका लागि ठोस कदम चाल्नुपर्ने आवश्यकतामाथि पनि जोड दिएका छन् ।
उनले सम्पूर्ण सरकारी निकाय, राजनीतिक दल, संघसंस्था तथा आम नागरिकलाई संकटको यस घडीमा एकजुट भई राहत तथा पुनःस्थापना प्रयासमा हातेमालो गर्न अपिल गरेका छन् ।
तपाईको प्रतिक्रिया दिनुहोस