वामदेव गौतम एकीकृत समाजवादीमा समाहित, आज एकता घोषणा हुँदै
झण्डै पाँच वर्षअघि नेकपा विभाजित भएर एमाले र माओवादी बनेका बेला कुनै पनि समूहमा नगई ‘राष्ट्रिय एकता अभियान’ थालेका गौतम अन्ततः माधव नेपाल नेतृत्वको समाजवादी पार्टीमा समाहित भएका हुन्।

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) र नेकपा राष्ट्रिय एकता अभियानबीच आज औपचारिक एकीकरण घोषणा हुँदैछ। गत शुक्रबार अभियानका संयोजक वामदेव गौतम र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भएको सहमतिअनुसार आज एकता सार्वजनिक रूपमा घोषणा गरिन लागिएको हो।
एकीकृत समाजवादीसँगको एकतापछि नेता गौतमलाई पार्टीमा तेस्रो वरियताको वरिष्ठ नेता मानिने सहमति भएको छ। हाल अध्यक्ष माधव नेपाल पहिलो र सम्मानित नेता झलनाथ खनाल दोस्रो वरियतामा छन्। त्यसपछि गौतमको वरियता रहनेछ।
झण्डै पाँच वर्षअघि नेकपा विभाजित भएर एमाले र माओवादी बनेका बेला कुनै पनि समूहमा नगई ‘राष्ट्रिय एकता अभियान’ थालेका गौतम अन्ततः माधव नेपाल नेतृत्वको समाजवादी पार्टीमा समाहित भएका हुन्।
गौतम यसअघि पनि समाजवादीमा जान चाहेका थिए। तर, उनले माग गरेको पदको विषयमा सहमति नजुट्दा एमालेसँग पुनः संवाद थालेका थिए। एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा ल्याएपछि जिम्मेवारी दिने भने पनि त्यसका लागि विधान महाधिवेशन कुर्नुपर्ने बताएका थिए।
गौतम एमाले प्रवेशका लागि इच्छुक देखिए पनि सचिवालय बैठकले "सहकार्य गर्ने" निर्णय मात्रै गरेपछि एमालेबाट खासै चासो नपाएको अनुभव गरेका थिए।
२०७८ सालमा एमाले विभाजन भएपछि ओलीप्रति असन्तुष्टि जनाउँदै पार्टी छाडेका गौतमले त्यसबेला माधव नेपालसँगको एकतामा पनि संलग्न नभई अलग्गै बसेका थिए। नेकपाका अन्तरविरोध चुलिँदा गौतम प्रचण्ड–माधव पक्ष नजिकिएका थिए।
तपाईको प्रतिक्रिया दिनुहोस