अस्ट्रेलियामा मेटाले हटायो बालबालिका साढे ७ लाखभन्दा बढी अकाउन्ट
अस्ट्रेलियामा १६ वर्षभन्दा कम उमेरका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा गरिएको प्रतिबन्धपछि प्रविधि कम्पनी मेटाले ठूलो संख्यामा प्रयोगकर्ताका अकाउन्टहरू हटाएको छ।
कम्पनीका अनुसार गत डिसेम्बरदेखि जुनसम्म १६ वर्षभन्दा कम उमेरका अस्ट्रेलियाली प्रयोगकर्ताले सञ्चालन गरिरहेको आशङ्कामा साढे सात लाखभन्दा बढी अकाउन्टहरू हटाइएको छ। तीमध्ये इन्स्टाग्रामका ४ लाख ६२ हजार र फेसबुकका २ लाख ९४ हजार अकाउन्ट रहेका छन्। अस्ट्रेलियाली सरकारले बालबालिका तथा किशोरकिशोरीको मानसिक र शारीरिक स्वास्थ्यमा पर्ने नकारात्मक प्रभावलाई ध्यानमा राख्दै यो कानुन लागू गरेको हो।
नियमको पालना गर्न मेटाले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रविधि प्रयोग गरिरहेको जनाएको छ। कम्पनीले प्रयोगकर्ताको प्रोफाइलमा जन्मदिन मनाएको विवरण, विद्यालयको कक्षासँग सम्बन्धित संकेत र अन्य सन्दर्भका आधारमा नाबालकका अकाउन्टहरू पहिचान गरिरहेको छ। साथै, हटाइएका अकाउन्टहरू पुनः खोल्ने प्रयास रोक्न थप उपायहरू पनि अपनाइएको मेटाले स्पष्ट पारेको छ।
यसैबीच, अस्ट्रेलियाको अनलाइन सुरक्षा नियामक संस्था (eSafety) को प्रतिवेदनअनुसार प्रतिबन्ध लागू भएको सुरुवाती तीन महिनासम्म पनि १० देखि १५ वर्ष उमेर समूहका ८० प्रतिशतभन्दा बढी बालबालिकाले उमेर घटाएर वा अन्य उपायमार्फत सामाजिक सञ्जाल प्रयोग गरिरहेको पाइएको थियो।
बालबालिकाको अनलाइन सुरक्षा सुनिश्चित गर्न अस्ट्रेलियाली सरकारले नियम पालना नगर्ने कम्पनीलाई अधिकतम ९ करोड ९० लाख अस्ट्रेलियाली डलरसम्म जरिबाना गर्ने तथा नियामक निकायको अधिकार थप बढाउने प्रस्ताव अघि सारेको छ। यसै सिलसिलामा शुक्रबार मेटा, टिकटक, गुगल र स्न्यापच्याटका प्रतिनिधिले अस्ट्रेलियाली संसदीय छानबिन समितिसामु उपस्थित भएर कानुन कार्यान्वयनका लागि अपनाइएका उपायहरूबारे जानकारी गराउनेछन्।



तपाईको प्रतिक्रिया दिनुहोस