चार दिनसम्म पोखरामा व्यापक विद्युत् कटौती हुदै
पोखरामा आजदेखि फागुन २१ गतेसम्म दैनिक पाँच घण्टा विद्युत् आपूर्ति बन्द हुने भएको छ। नेपाल विद्युत् प्राधिकरणको पोखरा ग्रीड महाशाखाअन्तर्गत रहेको कुँडहर सबस्टेशनमा ‘बसबार’ स्तरोन्नति तथा मर्मत कार्य सुरु भएकाले चार दिनसम्म बिहान ६ देखि ११ बजेसम्म पोखराको अधिकांश क्षेत्रमा बिजुली काटिने भएको हो।
पोखरा वितरण केन्द्रका प्रमुख जितेन्द्र यादवका अनुसार कुँडहर सबस्टेशनको १३२ केभी बसबार मर्मतका लागि ठेक्का प्रक्रियाअनुसार आजदेखि काम सुरु गरिएको हो। मर्मत अवधिभर कुँडहर ग्रीडबाट आपूर्ति हुने सबै फिडर सटडाउन हुनेछन्।
उनका अनुसार पोखरा प्रवेशद्वार विजयपुरदेखि हरिचोकसम्मको सम्पूर्ण क्षेत्रमा विद्युत् आपूर्ति बन्द रहनेछ। तोकिएको समयभन्दा अगावै मर्मत कार्य सम्पन्न भएमा विद्युत् आपूर्ति केही छिटो पुनः सुचारु हुने पनि वितरण केन्द्रले जनाएको छ। बसबार मर्मत सकिएपछि नियमित विद्युत् आपूर्ति हुने प्राधिकरणको भनाइ छ।
यसैबीच, पोखरा महानगरपालिकाले पोखराको बजार क्षेत्रलाई ताररहित बनाउने अभियानमा सहकार्य गर्न इन्टरनेट सेवा प्रदायकहरूसँग आग्रह गरेको छ। विद्युत् प्राधिकरणले अघि बढाएको २३ किलोमिटर क्षेत्रमा विद्युत् तार भूमिगत गर्ने योजनासँगै टेलिफोन र इन्टरनेटका तारसमेत एकीकृत रूपमा भूमिगत गर्ने सम्भावनाबारे महानगरले छलफल अघि बढाएको हो।
महानगरले पोलहरूमा अव्यवस्थित रूपमा झुन्डिएका अनावश्यक तार तत्काल हटाउन पनि सेवा प्रदायकहरूलाई निर्देशन दिएको छ। नगरप्रमुख धनराज आचार्यले एक महिनाभित्र तार नहटाए महानगरपालिकाले आफैं हटाउने चेतावनी दिएका छन्। यसका लागि प्राविधिक समिति गठन गरी व्यवस्थापन गर्ने निर्णयसमेत गरिएको छ।
हाल विद्युत् प्राधिकरणले पोखरामा विद्युत् प्रणाली सुदृढीकरण परियोजनाअन्तर्गत तार भूमिगत गर्ने कार्य तीव्र रूपमा अघि बढाइरहेको छ। पोखरा अन्तरराष्ट्रिय विमानस्थलदेखि पृथ्वीचोक हुँदै सृजनाचोक, रत्नचोक, राष्ट्र बैंकचोक, सहिदचोक, लेकसाइड, हल्लनचोक हुँदै बुलौदी र जिरो किलोमिटरसम्म यो काम भइरहेको छ।
प्राधिकरण पोखरा–भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजना प्रमुख आनन्द सुवेदीका अनुसार २३ किलोमिटर क्षेत्रमा तार भूमिगत गर्ने परियोजनाको हालसम्म करिब ६० प्रतिशत काम सम्पन्न भइसकेको छ। ‘होरिजेन्टल डाइरेक्सनल ड्रिलिङ’ प्रविधिबाट न्यून क्षतिसहित तार जमिनमुनि बिछ्याइँदैछ।
तार भूमिगत भएपछि अव्यवस्थित तार र पोलबाट पोखराले मुक्ति पाउने, सहरी सौन्दर्य बढ्ने र पर्यटकीय आकर्षण थप सुदृढ हुने विश्वास प्राधिकरण र महानगरले लिएका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस