माइतीघरमा छैटौँ दिन पनि अजय सोडारीको आमरण अनशन जारी, स्वास्थ्यमा गम्भीर समस्या
काठमाडौँको माइतीघरमा विगत ६ दिनदेखि आमरण अनशनमा बसेका जेनजी अभियन्ता अजय सोडारीको स्वास्थ्य अवस्था दिनानुदिन प्रतिकूल बन्दै गएको छ।
जेनजी युनाइटेडका प्रवक्ता सुजन पौडेलका अनुसार अनशनको छैटौँ दिनसम्म पनि सरकारका तर्फबाट कुनै ठोस पहल भएको छैन। गृह मन्त्रालयको सचिवालयबाट केही प्रतिनिधि आए पनि ‘यो विषय सचिवालयस्तरबाट समाधान हुन सक्दैन’ भन्दै फर्किएको उनले बताए। आन्दोलनरत पक्षले गृह मन्त्री वा प्रधानमन्त्री तहबाटै माग सम्बोधन हुनुपर्ने अडान राखेका छन्।
चुनावी माहोल तातिएको कारण सञ्चारमाध्यमको ध्यान अन्यत्र मोडिँदा अनशनको विषय ओझेलमा परेको भन्दै जेनजी युनाइटेडले चिन्ता व्यक्त गरेको छ। अनशनकारीको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएकाले यसलाई प्राथमिकताका साथ उठाइदिन प्रवक्ता पौडेलले सञ्चारमाध्यमसँग आग्रह गरेका छन्।
आन्दोलनरत पक्षले माग पूरा गर्न राज्यलाई दबाब दिइरहेका छन्। जेनजी अभियन्ता सोडारीले देशलाई जबर्जस्ती चुनावतर्फ धकेल्नु जेनजी आन्दोलनका बलिदान र मूल्य–मान्यता मेटाउने षड्यन्त्र भएको आरोप लगाएका छन्। घाइते र सहिदको त्यागलाई कुल्चेर चुनावमा जानेहरू कायर र धोखेबाज हुने दाबी गर्दै उनले यस्तो कदमलाई इतिहासले माफी नदिने चेतावनी दिएका छन्।
सोडारीले छ बुँदे माग अघि सारेका छन्। उनका मागमा निर्वाचन गतिविधि तत्काल रद्द गरी सर्वपक्षीय सरकार गठन, जेनजी बन्दीको रिहाइ तथा दोषीमाथि कारबाही, भ्रष्टाचार छानबिन र कारबाही, प्रत्यक्ष कार्यकारी प्रधानमन्त्रीको व्यवस्था, संविधान संशोधन वा पुनर्लेखनमार्फत राज्य पुनर्संरचना तथा विदेशबाट मताधिकारको व्यवस्था रहेका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस