पत्नी र प्रेमी मिलेर बारामा आमा–छोराको विभत्स हत्या
बाराको परवानीपुर गाउँपालिका–१ रहरियामा बुधबार बिहान भएको आमा–छोराको निर्मम हत्याकाण्डमा प्रहरीले मुख्य अभियुक्तहरूलाई पक्राउ गरेको छ। मृतककी पत्नी र उनका प्रेमी पक्राउ परेसँगै यो घटना पारिवारिक कलह मात्र नभई योजनाबद्ध अपराध भएको प्रारम्भिक निष्कर्षमा प्रहरी पुगेको छ।
प्रहरीका अनुसार २८ वर्षीय रामेश्वर मण्डल र उनकी ४६ वर्षीया आमा सुमित्रा देवी मण्डलको घाँटी रेटेर हत्या गरिएको थियो। अनुसन्धानबाट मृतककी २३ वर्षीया पत्नी मनिता देवी मण्डल र उनका प्रेमी धर्मेन्द्र महतो नै हत्याको योजनाकार रहेको खुलेको छ।
प्रारम्भिक विवरणअनुसार मनिताले प्रेमी धर्मेन्द्रसँग मिलेर हत्या योजना बनाएकी थिइन्। वैदेशिक रोजगारीका क्रममा दुबईमा रहेका धर्मेन्द्र माघ १२ गते काठमाडौँ फर्किएपछि योजनालाई कार्यान्वयन गरिएको हुनसक्ने प्रहरीको आशंका छ। बाराका प्रहरी उपरीक्षक नरेन्द्र कुँवरले भने, ‘अहिले नै सबै कुरा भन्न मिल्ने अवस्था छैन। अनुसन्धान जारी छ। चाँडै सत्यतथ्य बाहिर आउँछ र दोषी कारबाहीबाट उम्किन पाउने छैन।’
प्रहरीले घटनामा अन्य व्यक्तिहरूको समेत संलग्नतामा ‘सुपारी’ दिएर हत्या गराइएको हुनसक्ने आशंका गरेको छ। अनुसन्धान अधिकारीहरूका अनुसार धारिलो हतियार प्रयोग गरी योजनाबद्ध रूपमा आक्रमण गरिएको प्रारम्भिक निष्कर्ष निकालिएको छ।
घटनामा प्रयोग भएका हतियार, सम्भावित संलग्न व्यक्ति तथा योजनाको सम्पूर्ण सञ्जाल पत्ता लगाउन विशेष अनुसन्धान टोली खटाइएको छ। बाराका प्रहरी प्रमुख एसपी कुँवरले घटनाबारे गहिरो अनुसन्धान भइरहेको जानकारी दिँदै भने, ‘यो जघन्य अपराधमा संलग्न सबैलाई पहिचान गरी कानुनी दायरामा ल्याइनेछ।’
उनका अनुसार मोबाइल विवरण, सिसी क्यामरा फुटेज, कल रेकर्ड तथा बयानका आधारमा थप पक्राउ पर्ने सम्भावना पनि उच्च छ।
एकै परिवारभित्र भएको यस्तो जघन्य घटनाले परवानीपुर क्षेत्र स्तब्ध बनेको छ। आमा–छोराको हत्या र बाबु–छोरी गम्भीर घाइते भएको घटनाप्रति स्थानीयले आक्रोश व्यक्त गर्दै दोषीलाई कडा सजायको माग गरेका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस