छिमेकी विवादले वृद्धद्वारा धारिलो हतियार प्रहार, एकको मृत्यु
उदयपुरको चौदण्डीगढी नगरपालिकामा सामान्य छिमेकी विवादले उग्र रूप लिँदा एक जनाको ज्यान गएको छ। आइतबार साँझ वडा नं. ७ स्थित सीता पाइला टोलमा ७३ वर्षीय वृद्धले धारिलो हतियार प्रहार गर्दा ६४ वर्षीय छिमेकीको मृत्यु भएको हो।
प्रहरीका अनुसार आइतबार साँझ करिब सवा ८ बजे स्थानीय रामप्रसाद राई र माहाशेर राईबीच छरछिमेकको विषयलाई लिएर विवाद भएको थियो। विवाद बढ्दै जाँदा आवेगमा आएका रामप्रसादले माहाशेरमाथि धारिलो हतियार प्रहार गरेका थिए। प्रहारबाट माहाशेरको छातीको दायाँ माथिल्लो भागमा गम्भीर चोट लागेको थियो।
घाइते माहाशेरलाई तत्काल उपचारका लागि बेल्टारस्थित नगर अस्पताल लगिएको थियो। तर, अस्पताल पुग्नासाथ चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए। प्रहरीका अनुसार अस्पताल लैजाँदै गर्दा नै उनको मृत्यु भइसकेको थियो।
घटनामा संलग्न रामप्रसाद राईलाई इलाका प्रहरी कार्यालय बेल्टारबाट खटिएको टोलीले नियन्त्रणमा लिएको छ। प्रहरी निरीक्षक प्रभात लक्सम लिम्बूको नेतृत्वमा खटिएको टोलीले उनलाई पक्राउ गरी घटनाबारे थप अनुसन्धान अघि बढाएको जनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस