Techie IT
२०८३ कार्तिक ९, आइतबार

इरानमाथि आइतबारसम्म आक्रमण हुन सक्ने ट्रम्पको कडा चेतावनी


अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि आइतबारसम्ममा पुनः सैन्य आक्रमण हुन सक्ने वा तेहरानसँग ‘ठूलो र भव्य’ सम्झौता कायम हुन सक्ने चेतावनी दिएका छन्। पत्रकारहरूसँग कुरा गर्दै राष्ट्रपति ट्रम्पले अमेरिकाले इरानविरुद्ध सैन्य कारबाहीका लागि गम्भीरतापूर्वक विचार गरिरहेको बताएका हुन्।

यद्यपि, सैन्य कारबाहीबारे अन्तिम निर्णय भइसकेको छ वा छैन भन्ने विषयमा उनले स्पष्ट पार्न अस्वीकार गरे। इरानले आणविक हतियार निर्माण नगरोस् भन्ने नै अमेरिकाको मुख्य उद्देश्य रहेको दोहोर्याउँदै उनले कूटनीतिक सम्झौताको ढोका अझै खुला रहेको संकेत गरेका छन् । तर, इरानले सम्भावित सम्झौता निष्ठापूर्वक पालना गर्छ कि गर्दैन भन्नेमा भने उनले आशङ्का व्यक्त गरेका छन्।

यसैबीच मध्यपूर्वमा तनाव थप उत्कर्षमा पुगेको छ। यमनको विद्रोही समूह हुथीले अक्टोबर २४ मा येमनको दक्षिणी बन्दरगाह शहर अदनस्थित अल-नसर क्याम्प र नौसेना सैन्य बेसलाई लक्षित गरी क्षेप्यास्त्र प्रहार गरेको छ। यमन सरकारले अदनमाथि आक्रमण भएको पुष्टि गरे पनि क्षति र हताहतीको पूर्ण विवरण आउन बाँकी छ।

अर्कोतर्फ, साउदी अरेबियाको नागरिक प्रतिरक्षा निकायका अनुसार साउदी सेनाले हावामै नष्ट गरेका विद्रोहीका क्षेप्यास्त्रका टुक्राहरू मक्का र जेद्दामा खसेका छन्। हुथी विद्रोहीहरूले साउदीका सात विभिन्न स्थानलाई निशाना बनाएको दाबी गरेका छन् भने अमेरिकी दूतावासले रियादमा रहेका आफ्ना नागरिकहरूका लागि सुरक्षा सतर्कता (लेभल-३ ट्राभल एडभाजरी) जारी गरेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट