Techie IT
२०८३ वैशाख १४, सोमबार

बीपी राजमार्ग अझै अवरुद्ध, वर्षाले डाइभर्सन काम रोकियो


काठमाडौं । लगातारको वर्षाका कारण बीपी राजमार्ग अझै सञ्चालनमा आउन सकेको छैन । शनिबार र आइतबारको वर्षाले सडकमा ठूलो क्षति पुर्‍याएपछि आवागमन पूर्ण रूपमा अवरुद्ध भएको हो ।

डिभिजन सडक कार्यालय भक्तपुरका अनुसार आइतबार सडक खुलाउने प्रयास भइरहेकै बेला पुनः वर्षा भएपछि अस्थायी डाइभर्सन निर्माण कार्य रोकिएको हो । कार्यालयका प्रमुख सिनियर डिभिजनल इन्जिनियर सुमन योगेशका अनुसार मौसम अनुकूल भए सोमबार बिहानदेखि पुनः काम सुरु गरिनेछ ।

उनका अनुसार आइतबार आठ स्थानमा डाइभर्सन निर्माण गरी आवागमन सञ्चालन गर्ने तयारी गरिए पनि ‘चार सयबेँसी’ क्षेत्रमा काम भइरहेकै बेला वर्षा भएपछि थप काम प्रभावित भएको हो ।

शनिबार दिउँसोदेखि वर्षा सुरु भएपछि सम्भावित जोखिमलाई ध्यानमा राख्दै जिल्ला प्रशासन र सुरक्षा निकायले अपराह्न ३:३० बजेदेखि राजमार्ग बन्द गरेका थिए । जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार नमोबुद्धको कटुन्जेदेखि रोशी खोलाको मङ्गलटारसम्मको सडकखण्डमा आएको बाढीका कारण जोखिम बढेपछि आवागमन रोकिएको हो ।

रोशी खोलामा आएको बाढीले कटुन्जे–मङ्गलटार सडकखण्डका करिब चार किलोमिटर डाइभर्सनमा क्षति पुर्‍याएको छ । चौकीडाँडा, घुमाउने, नार्के, चिउरीबास, कालढुङ्गा, डालाबेँसी, बुलढुङ्गा र माम्ती गरी आठ स्थानमा सडक क्षतिग्रस्त भएको जनाइएको छ ।

यसअघि पनि गत चैतमा सोही क्षेत्रमा सडक बगाएपछि अस्थायी डाइभर्सन निर्माण गरिएको थियो । गत वर्षको बाढीपहिरोले रोशी र नेपालथोक क्षेत्रमा करिब १८ किलोमिटर सडक बगाएपछि हालसम्म डाइभर्सनमार्फत सवारी सञ्चालन हुँदै आएको थियो ।

राजमार्ग बन्द भएपछि सवारीसाधनलाई धुलिखेल, काभ्रेभन्ज्याङ, मङ्गलटार र नेपालथोक क्षेत्रमा रोकिएको छ । अलपत्र परेका ६ सयभन्दा बढी यात्रुलाई आइतबार झोलुङ्गे पुलमार्फत तेमाल गाउँपालिका हुँदै नमोबुद्ध नगरपालिकाको भकुण्डेसम्म उद्धार गरिएको प्रहरीले जनाएको छ ।

स्थानीयको सहयोगमा यात्रुहरूलाई फलफूल, पानी तथा अन्य पेयपदार्थसमेत वितरण गरिएको छ । हाल सो क्षेत्रमा स्थायी सडक निर्माणको काम जारी रहेको जनाइएको छ ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट